विमान दुर्घटनाः ६८ शव भेटिएकाेमा ३८ जनाको सनाखत, चार जनाकाे अवस्था अझै अज्ञात
पोखराः पोखराकाे सेती खाेंचमा आइतबार बिहान दुर्घटना भएकाे यती एयरलाइन्सको विमानमा रहेका मध्ये हालसम्म ६८ जनाकाे शव भेटिएकाे छ। जसमध्ये ३८ जनाकाे सनाखत भएकाे नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ।
प्राधिकरणले भर्खरै एक विज्ञप्ती जारी गर्दै विमानमा सवार ७२ जना मध्ये ६८ जनाको शव भेटिएको ३८ जनाकाे सनाखत भएकाे बताएकाे हाे। दुर्घटनामा परेर हराइरहेका ४ जनाकाे अवस्था अझै अज्ञात रहेकाे छ भने खाेजी कार्य जारी छ।
विमानको ‘ब्ल्याक बक्स’ पनि भेटिइसकेकाे र उक्त ब्ल्याक बक्स दुर्घटना जाँच आयोगलाई बुझाइसकेकाे प्राधिकरणले जनाएको छ।
शव पोस्टमार्टमका लागि काठमाडौंबाट फरेन्सिक विज्ञकाे टाेली पनि पोखरा पुगिसकेकाे छ। त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा.समारिका दाहालले पोखरामा पुगेर काम गर्न थालिसकेकाे नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ।
दुर्घटनामा निधन भएका मध्ये पोखराका नागरिकको हकमा पोखरामा नै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ।
त्यसैगरी, विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौं घर भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ। काठमाडौं ल्याइने शवहरूको भने काठमाडौंमा नै पोस्टमार्टम गरिनेछ।
माघ २, २०७९ सोमबार १४:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।