प्रक्रियागत ढिलाइका कारण सनाखत भएका शवकाे ‘पोस्टमार्टम’ हुन सकेन, आफन्तलाई बुझाउन अझै समय लाग्ने
पाेखराः आइतबार बिहान भएको यती एयरलायन्सको विमान दुर्घटनामा निधन भएर सनाखत भएका व्यक्तिहरूको शवकाे पोस्टमार्टम अझै सुरु हुन सकेको छैन। दुर्घटनामा निधन भएका मध्ये हालसम्म ३५ जनाकाे पहिचान भएकाे बताइएकाे छ।
पहिचान भएका मध्ये पोखरा र आसपासका व्यक्तिको शव यहीँ आफन्तलाई बुझाउने गरी पाेखरामा नै पोस्टमार्टम गरिने तयारी छ।
तर हवाई दुर्घटनामा परी निधन भएकाको शव पोस्टमार्टम सम्बन्धमा प्रक्रियागत रुपमा टोली गठन गर्ने व्यवस्था भएकाले पोस्टमार्टम गर्न ढिलाइ भएकाे कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले जानकारी दिएका छन्।
उनका अनुसार प्रक्रियागत रुपमा टोली गठन गर्न सम्बन्धित निकायमा पत्राचार गरिसकिएको छ। पोस्टमार्टमका लागि अन्य आन्तरिक तयारी भइसकेको बताउँदै उनले प्रक्रियागत रुपमा अझै केही समय लाग्ने बताए।
काठमाडौँ लगिने शवहरूकाे भने काठमाडौँमा नै पोस्टमार्टम गर्ने गरी तयारी गरिएको उनले बताए।
माघ २, २०७९ सोमबार १३:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।