चीनको रासायनिक कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु, १२ बेपत्ता

चीनको रासायनिक कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु, १२ बेपत्ता

एजेन्सी: चीनको एक रासायनिक कारखानामा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ। सोही घटनामा अन्य १२ जना हराइरहेका छन् भने घटनामा ३४ जना घाइते भएका छन्।

उत्तरपूर्वी लियाओनिङ प्रान्तको पानशान काउन्टीमा रहेको एक कारखानामा आइतबार दिउँसो विस्फोट भएको सरकारी प्रसारक सीसीटीभीले जनाएको छ।

विस्फोटपछि हराएकाहरूको खोजी भइरहेको र घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सीसीटीभीले जनाएको छ।

सीसीटीभीले सार्वजनिक गरेको भिडियो र तस्बिरमा कारखानाबाट बाक्लो धुवाँ र आगोको मुस्लो निस्किएको देखिन्छ भने प्लान्टबाहिर हेल्मेट लगाएका अग्निनियन्त्रकहरूको एक समूह देखिएको छ।

आगलागी नियन्त्रणका लागि ३३० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको सीसीटीभीले जनाएको छ। गत डिसेम्बरमा उत्तरपश्चिम चीनको सिन्जियाङ क्षेत्रमा रहेको एक सुनखानीमा भएको विस्फोटमा परी १८ जना सुरूङमा फसेका थिए।

माघ २, २०७९ सोमबार ११:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।