शोक बिदा परेपछि मधेश प्रदेशको सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि

शोक बिदा परेपछि मधेश प्रदेशको सभामुख निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भोलि

काठमाडौं: मधेश प्रदेश सभाको सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम भोलि मङ्गबारका लागि तय गरिएको छ। आइतबार पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय सरकारले शोक बिदा दिएकाले आजका लागि तोकिएका कार्यक्रम स्थगित भएको हो।

प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार प्रदेश सभा अध्यक्ष गोविन्दबहादुर न्यौपाने र मुख्यमन्त्री यादवको समन्वयमा मङ्गलबार दिउँसो १ बजेका लागि बैठक सारिएको हो। यसअघि आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक तय भएको हो।

प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि र परिवारजनमा गहिरो दुःख व्यक्त गर्दै देश शोकमा डुबेको र राष्ट्रिय शोक बिदा दिइएकाले आफूले भोलिको बैठकमा विश्वासको मत लिने जानकारी दिए।

गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए। यस्तै सभामुखमा सत्ता गठबन्धनका तर्फबाट एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसका तर्फबाट जङ्गीलाल रायको उम्मेदवारी दर्ता भएको छ।

माघ २, २०७९ सोमबार ०९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।