यति एयर विमान दुर्घटनाः शव आफन्तलाई जिम्मा लगाइँदै
काठमाडौं: पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ।
दुर्घटनामा मृत्यु भएकामध्ये पहिचान भएका शवहरू बिहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए।
पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ।
विमानमा सवार ७२ जनामध्ये हालसम्म ६६ जनाको शव सङ्कलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिसकिएको छ। तीनवटा शव देखिए पनि भौगोलिक कठिनाइका कारण ल्याउन नसकिएको र ६ जनाको शव अझै फेला नपरेको सहायक प्रजिअ शाहीले जानकारी दिए।
सेती नदीको अप्ठ्यारो खोँचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएसँगै आइतबार राति स्थगित उद्धार आज बिहानैदेखि सुरु गर्न लागिएको छ।
माघ २, २०७९ सोमबार ०८:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।