विमान दुर्घटनास्थलमा पत्रकारको परिचय पत्र भेटिएपछि...
पोखरा : पोखरालाई कर्मथलो बनाएका पत्रकार त्रिभुवन पौडेल प्रेस सेन्टर पदाधिकारीको बैठकमा भाग लिन काठमाडौँमा थिए।
प्रेस सेन्टरको उपाध्यक्ष रहेका उनले प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने समय मागेका थिए आइतबार। समय मिलेको पनि थियो।
तर, आइतबार बिहानै प्रधानमन्त्री प्रचण्ड योगा दिवसको कार्यक्रममा व्यस्त भएपछि पौडेल पोखरा फर्किने भए। उनले यती एयरलाइन्सको नाइनएन–एएनसी जहाज टिकट किने जुन दुर्घटनामा पर्यो।
काठमाडौँबाट बिहान १०.३३ बजे पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए। नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य समेत रहेका उनको नाम समेत यात्रुको सूचीमा थियो।
जहाज १० बजेर ५४ मिनेटदेखि सम्पर्कविहीन भएको थियो।
पर्वतको कुस्मा नगरपालिका, आर्थर घर भएका पौडेल पोखराको फूलबारीमा बस्दै आएका थिए । पौडेलका श्रीमती र एक छोरा छन् ।
पोखरा हटलाइन दैनिकको सम्पादक समेत रहेका पौडेलबारे केही चमत्कार भइहाल्छ भन्ने आसमा थिए उनको परिवार। कतै दुर्घटनामा परेको विमानमा चढेका पो छैनन् कि भन्ने आस पनि नलागेको हैन। उनका शुभचिन्तकहरूले फेसबुकमा मेसेज गरिरहेका थिए।
तर जब दुर्घटनास्थलमा उनको परिचय पत्र फेला पर्यो पक्का भयो पत्रकार पौडेल पनि त्यही विमानका यात्रु थिए। पछि उनको शव नै सनाखत भयो।
पौडेल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष समेत हुन्। पौडेलले त्यसअघि महासङ्घ कास्की शाखामा एक पटक उपाध्यक्ष र दुई पटक सचिवका रूपमा काम गरेका थिए।
माघ १, २०७९ आइतबार २२:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।