पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल विमान दुर्घटनामा परेको पुष्टि
पोखराः नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल आज बिहान पोखरामा भएको यती एयरलायन्सको विमान दुर्घटनामा परेका छन्।
माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको काठमाण्डौंमा आयोजित बैठकमा सहभागि भएर पोखरा फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन्।
पौडेल दुर्घटनामा परेको पुष्टि भएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमता भण्डारीले जानकारी गराइन्। उनले दुर्घटनामा परेका पौडेलकाे परिचय पत्र लगायतका परिचय खुल्ने कागजात भेटिएको बताइन्।
पोखरा हटलाइन दैनिकका सम्पादक समेत रहेका पौडेल साढे दुई दशकदेखि पोखराको पत्रकारीतामा सक्रिय रहँदै आएका थिए।
प्रेस सेन्टर नेपालको उपाध्यक्षसमेत रहेका पौडेल यसअघि तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका प्रेस संयोजक थिए।
पर्वतको कुश्मा नगरपालिका, आर्थर घर भएका पौडेल पोखराको फुलबारीमा बस्दै आएका थिए। पौडेलका श्रीमती र एक छोरा रहेका छन्।
माघ १, २०७९ आइतबार १८:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।