विमान दुर्घटनामा ६५ जनाको शव भेटियाे, आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो दुर्घटना
पोखराः पोखरामा भएको यती एयरलायन्सको ९ एन–एएनसी जहाज दुर्घटनामा हालसम्म ६५ जनाको शव भेटिएको छ। जहाज दुर्घटनामा मृत्यु भएका ६५ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए।
उनका अनुसार दुर्घटना स्थलबाट निकालिएका मध्ये ३३ वटा शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ। पछि सेती नदीको तीन सय मिटरको खोचबाट लिकालिएका अन्य ३२ वटा शव पनि अस्पताल पठाउने तयारी भइरहेको छ।
पोखरामा आज भएको यस विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो दुर्घटना भएको पाइएको छ। यस दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
काठमाडौँबाट बिहान १०ः३३ बजे पोखरा विमानस्थलका लागि उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए। ७२ यात्रुमध्ये १५ जना विदेशी र चालक दलका ४ सदस्य सहित ५७ जना नेपाली नागरिक रहेको खुलेको छ।
जहाज १०ः५४ मिनेटदेखि सम्पर्कविहीन भएको थियो। सेती नदीको खोचबाट उद्धारको कार्य जारी रहेको छ।
माघ १, २०७९ आइतबार १६:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।