दुर्घटनापछि बल्ल सरकारकाे आँखा खुल्याेः सबै आन्तरिक उडानअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन
काठमाडाैंः सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान परीक्षण गरे-नगरेको अनुगमन गर्न नागरिक उड्डयन प्राधिरकणलाई निर्देशन दिएको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
बैठकका निर्णयबारे जानकारी दिँदै पौडेलले भने, ‘आन्तरिक उडानमा रहेका विमानको प्राविधिक पक्षको परीक्षण अनिवार्य गर्ने व्यवस्थाले हवाई दुर्घटना कम गर्न सघाउ पुग्ने हाम्रो अपेक्षा छ।’
आज बिहान पोखरामा यति एयरलाइन्सको विमानमा दुर्घटनामा भएपछि सरकारकाे आकस्मिक बैठक बसेकाे हाे। उक्त विमानमा ५३ नेपाली र १५ जना विदेशी यात्रु रहेका थिए।
जस मध्ये २५ जना पुरुष र ३७ जना महिला थिए। त्यसैगरी विमानमा ३ जना बालक र ३ जना शिशु रहेकाे बताइएकाे छ। हालसम्म २९ जनाकाे मृत्यु भएकाे नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ।
बैठकले दुर्घटनामा परी निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ। बैठकले माघ २ गते सोमबार दुर्घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ।
घटनाबारेमा जानकारी लिन चाहने परिवार, आफन्त र अन्य सरोकारवालाका लागि सम्पर्क र विश्वसनीय सूचनाको प्रबन्ध गर्न त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको पनि उनले बताए।
सरकारले पार्थिव शरीर बुझ्न र आ-आफ्नो स्थानमा लैजान चाहनेका लागि सहजीकरण गर्न आवश्यक प्रबन्ध मिलाउने निर्णय समेत गरेको छ।
काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो भने उद्धार कार्य जारी रहेकाे छ।
माघ १, २०७९ आइतबार १५:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।