दुर्घटनास्थलमा मानिसकाे भिडका कारण उद्धारमा कठिनाइ, दमकल र पानी ट्याङ्कर लान समेत समस्या

दुर्घटनास्थलमा मानिसकाे भिडका कारण उद्धारमा कठिनाइ, दमकल र पानी ट्याङ्कर लान समेत समस्या

पोखराः पोखरामा आज बिहान भएको यति एयरलायन्सको विमान दुर्घटनास्थलमा सर्वसाधारणको अत्यधिक भिडका कारण उद्धारमा समस्या भएको छ।

त्यस स्थानको ट्राफिक अस्तव्यस्त बन्दा उद्धारमा खटिएका सवारीसाधनलाई दुर्घटनास्थलमा पुग्न हम्मे-हम्मे भएको सुरक्षाकर्मी बताउँछन्।

पोखराको पृथ्वीचोकबाट सेती नदीको किनारमा नै रहेको बाटोका साथै बुद्धचोकबाट आगो निभाउनका लागि जाने बाटाेमा पनि भिडका कारण  दमकल एवं पानीका ट्याङ्कर पुर्याउन समेत समस्या भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताए।

भिडभाडका कारण दुर्घटनास्थलमा मोबाइल सम्पर्क पनि असहज बनेको छ। हालसम्म दुर्घटना भएको यती एयरलाइन्सको ९ एन–एएनसी जहाजका ३६ यात्रुको शव भेटिएको छ।

काठमाडौँबाट बिहान १०ः३३ बजे पोखरा विमानस्थलमा उडेको जहाजमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए। जहाज १० बजेर ५४ मिनेटदेखि सम्पर्कविहीन भएको उड्डयन प्राधिकरणले जनाएको छ।

जहाज दुर्घटनामा मृत्यु भएका ३६ जनाको शव निकालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिएका छन्।

सेती नदीको खोँचबाट उद्धारको कार्य जारी छ। शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। सेती खोँचमा विमान खसेपछि ठुलो आगलागी भएको थियो।

माघ १, २०७९ आइतबार १४:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।