'ब्यान यति एयर'को ह्यासट्याग चल्न थालेपछि यतिले फेसबुकमा कमेन्ट गर्न मिल्ने फिचर बन्द गर्यो

'ब्यान यति एयर'को ह्यासट्याग चल्न थालेपछि यतिले फेसबुकमा कमेन्ट गर्न मिल्ने फिचर बन्द गर्यो

काठमाडौं: यति एयरलाइन्सको विमान आज बिहान पोखरामा दुर्घटनाग्रस्त भएको छ। बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि पोखराको सीताराम हाउजिङनजिक सेती नदी खोँचमा दुर्घटनाग्रस्त भएको हो।

एएनसी एटीआर ७२ जहाज क्याप्टेन कमल केसीले उडाएका थिए।

हाल उद्धारकार्य जारी छ। केही शव निकालिए पनि यकिन सङ्ख्या सार्वजनिक भएको छैन। विमानमा ६८ यात्रु सवार थिए। यस्तै दुई पाइलट र दुई एयर होस्टेज थिए।

यता विमान दुर्घटना भएलगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यति एयरलाइन्सको फेसबुक पेजमा गई पोस्टहरूमा कमेन्ट गर्न थाले।विमान पुरानो भएको, एयरलाइन्सले लापरबाही गरेको जस्ता कमेन्ट अत्यधिक आएको छ।

यस्तै 'ब्यान यति एयरलाइन्स', 'बोइकट यति', 'अभोइड यति' जस्ता ह्यास्ट्याग नै चलेको छ फेसबुकमा। यसलगत्तै केही मिनेटअघि मात्र यतिले पेजमा कमेन्ट गर्न मिल्ने फिचर नै बन्द गरिदिएको छ।

माघ १, २०७९ आइतबार १२:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।