आज माघे सङ्क्रान्ति

आज माघे सङ्क्रान्ति

काठमाडौं: आज माघ १ गते अर्थात् नेपाली परम्पराअनुसार माघे सङ्क्रान्ति पर्व। यो पर्व नेपालको प्रमुखमध्येको एक मानिन्छ।

आजको दिन तरुल, घिउ, सखरखन्ड, चाकुलगायत परिकार खाने प्रचलन छ। यो पर्वलाई ‘मकर सङ्क्रान्ति’ पनि भनिन्छ।

ज्योतिषशास्त्र अनुसार माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो। यो पर्वलाई थारु समुदायहरूले  ‘माघी’ र नेवारहरुले  ‘हामो सँल्हू’का नाममा मनाउँछन्।

सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्नु नै सङ्क्रान्ति हो। वर्षभरिमा सूर्यले बाह्र वटा राशि पार गर्छन्। ती बाह्र वटा राशिमध्ये सूर्यले मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर सङ्क्रान्ति तथा माघे सङ्क्रान्ति भनिन्छ। यसैदिनदेखि सूर्य उत्तरायण लाग्छन् भन्ने शास्त्रीय मान्यता रहिआएको छ।

यसरी एक राशिबाट अर्को राशिमा सूर्य जाँदा स्नान, दान, होम आदि गर्नाले अनन्त पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।  सङ्क्रान्तिको दिनमा गरिएको स्नान, दान तथा श्राद्धादिको फल सुखदायक मानिएको छ।

यो दिन तिल तथा तिलबाट बनेका पदार्थहरूको दान, वस्त्रदान, गोदानलाई अनन्त पुण्यदायक मानिएको छ।

माघ १, २०७९ आइतबार ०७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।