आज पनि भएन सुदूरपश्चिममा सभामुखकाे चयन, नागरिक उन्मुक्ति पार्टीका सदस्य तटस्थ बस्दा कसैकाे पनि बहुमत पुगेन
काठमाडाैंः सुदूरपश्चिम प्रदेशसभा बहुमत नपुगेपछि आज पनि सभामुख चयन हुन सकेन। आज साँझ बसेको बैठकमा सभामुख चयन गर्ने सम्बन्धी दुई छुट्टाछुट्टै प्रस्तावमाथि भएको कारवाही आवश्यक बहुमत सङ्ख्या नपुग्दा अस्वीकृत भएको हाे।
सभामुख चयन प्रक्रियामा सत्तापक्षकै नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभाका सदस्य तटस्थ बस्दा कसैको पक्षमा बहुमत नपुगेपछि दुवै प्रस्ताव अस्वीकृत भएका हुन्।
प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काको प्रस्ताव उपर गरिएको निर्वाचनमा पक्ष र विपक्षमा समान २२ मत परेको छ।
यसैगरी, प्रदेशसभा सदस्य भीमबहादुर भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी एमालेकी जानकी ऐर बमले राखेकाे अर्को प्रस्तावमा पनि पक्ष र विपक्षमा समान २२ मत परेको हाे।
५३ सदस्यीय प्रदेशसभामा सभामुखमा निर्वाचित हुनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ। नागरिक उन्मुक्तिका सबै सात सदस्य बैठकमा उपस्थित भए पनि मत विभाजनमा तटस्थ बसेका कारण बहुमतकाे निर्णय हुन सकेन।
आजको बैठकमा प्रतिपक्ष नेपाली कांग्रेसकी सरस्वती खड्का अनुपस्थित थिइन् भने सभामुखको भूमिकामा रहेका नेपाली कांग्रेसका शिवराज भट्टले मत विभाजनमा भाग लिएनन्।
यसअघि बिहीबार बसेको बैठकमा भएको सभामुख निर्वाचनसम्बन्धी दुई प्रस्ताव पनि आवश्यक बहुमत नपुग्दा अस्वीकृत भएको थियो।
पुष ३०, २०७९ शनिबार २१:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।