म्यानचेस्टर सिटीविरुद्ध युनाइटेडकाे सानदार पूनरागमन जित, अन्तिम १२ मिनेटमा फर्कायाे दुई गाेल
एजेन्सीः सानदार पूनरागमन गर्दै म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई २-१ ले पराजित गरेकाे छ। शनिबार साँझ भएको म्यानचेस्टर डर्वीमा १–० ले पछि परेको म्यान्यूले खलकाे अन्तिम १२ मिनेटमा दुई गाेल फर्काउँदै खेल उल्टायाे।
युनाइटेडकाे घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएकाे खेलकाे पहिलो हाफ गोलरहित बराबरीमा सकिएकाे थियाे। यसपछि खेलमा अग्रता भने सिटीले खेलकाे ६०औं मिनेटमा ज्याक ग्रेलिसकाे गाेलमार्फत कायम गर्याे।
तर अन्तिम १२ मिनेट सिटी खेलमा थामिन नसक्दा युनाइटेडले २ गाेल फर्कायाे। युनाइटेडले ४ मिनेटको अन्तरमा दुई गोल गर्दे खेल २–१ ले जितेकाे हाे।
रेड डेभिल्स् म्यान्यूका लागि खेलकाे ७८औं मिनेटमा ब्रुनो फर्नान्डेसले बराबरी गोल फर्काएका थिए। यसपछि ८२औं मिनेटमा मार्कस रासफाेर्डले गोल गर्दै युनाइटेडकाे जित पक्का गरे।
जितपछि युनाइटेड १८ खेलबाट ३८ अंकसहित लिगकाे तेस्रो स्थानमा उक्लिएको छ। याे हारका कारण समान खेलबाट ३९ अंकसहित दाेस्राे स्थानमा रहेकाे सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी घटाउने मौका गुमायाे। लिग लिडर आर्सनलको १७ खेलमा ४४ अंक छ।
पुष ३०, २०७९ शनिबार २१:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।