सरकार विस्तारका लागि प्रचण्डकाे गृहकार्य, ओलीपछि बालुवाटार पुगे गृहमन्त्री लामिछाने
काठमाडाैंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट मङ्गलबार विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारबारे सत्तारूढ दलका नेताहरूबीच छलफल चलिरहेको छ। विश्वासको मत पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य सुरु भए पनि विस्तार हुन सकेको छैन।
यसअघि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ताका क्रममा मन्त्रिपरिषद् विस्तारकै बारेमा छलफल भएको थियो।
अहिले सरकारमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने र विना विभागीय मन्त्री राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारी र अब्दुल खान रहेका छन्।
पुष ३०, २०७९ शनिबार २०:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।