कोभिडका कारण चीनमा गत एक महिनामा मात्र ६० हजार जनाको मृत्यु

कोभिडका कारण चीनमा गत एक महिनामा मात्र ६० हजार जनाको मृत्यु

एजेन्सीः चीनको स्वास्थ्य अधिकारीहरूले एक महिनाको अवधिमा कोभिड–१९ का कारण झण्डै ६० हजार व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन्।

सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९३८ जनाको कोभिडका कारण मृत्यु भएको शनिबार राष्ट्रिय स्वास्थ्य आयोगअन्तर्गतको चिकित्सा प्रशासन ब्यूरोका प्रमुख जियाओ याहुईले बताए।

यो आंकडाले चिकित्सा सुविधाहरूमा रेकर्ड गरिएका मृत्युहरूलाई मात्र बुझाउने हुँदा कूल सङ्ख्या योभन्दा बढी हुन सक्ने अधिकारीहरूले बताएका छन्।

जिआओका अनुसार योमध्ये पाँच हजार ५०३ जनाको मृत्यु कोभिडका कारण आएको श्वासप्रश्वाससम्बन्धी समस्याका कारण भएको छ भने ५४ हजार ४३५ जनाको मृत्यु कोभिडसँग जोडिएका अन्य अन्तर्निहित रोगका कारण भएको हो।

गत डिसेम्बरको सुरुमा शून्य कोभिड नीति त्यागेपछि चीनमाथि भाइरसका कारण मृत्यु हुनेको सङ्ख्यालाई कम आंकलन गरेको आरोप लाग्दै आएको छ। स्वास्थ्य अधिकारीहरुले बुधबार यकिन सङ्ख्याका बारेमा जानकारी लिन आवश्यक नभएको बताएका छन्।

पुष ३०, २०७९ शनिबार १९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।