गण्डकी सभामुखमा माओवादीका धिताल निर्वाचित, बहुमतका लागि ३१ मत चाहिनेमा ३२ मत पाए

गण्डकी सभामुखमा माओवादीका धिताल निर्वाचित, बहुमतका लागि ३१ मत चाहिनेमा ३२ मत पाए

पोखराः गण्डकी प्रदेशसभाको सभामुखमा कृष्णप्रसाद धिताल निर्वाचित भएका छन्। माओवादी केन्द्रका धिताल शनिबार भएको प्रदेशसभामा ३२ मत ल्याएर निर्वाचित भएका हुन्।

गण्डकीको ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ मत आवश्यक पर्छ। उनलाई एमालेका २१, माओवादी केन्द्रका ८, राप्रपाका २ र एक जना स्वतन्त्र सांसदले मत दिएका हुन्।

प्रदेशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको २७ सांसदमध्ये धिताललाई सभामुख बनाउने प्रस्तावको विपक्षमा २६ सांसदले मत दिएका छन्। कांग्रेसका एक जना सांसद अनुपस्थित भएका छन्।

सभामुखको भूमिका निर्वाह गरिरहेका ज्येष्ठ सदस्य मित्रलाल बस्याल मतदानमा सहभागी भएनन्। गण्डकीमा भागबन्डामा एमालेको भागमा मुख्यमन्त्री र माओवादी केन्द्रको भागमा सभामुख परेको थियो।

गण्डकीको मुख्यमन्त्री दावी गरेका माओवादीका हरिबहादुर चुमानलाई पार्टीले उनको नेतृत्वमा सरकारमा पठाउने निर्णय गरेपछि गोरखा १ (क) बाट निर्वाचित कृष्ण धिताललाई सभामुखको उमेदवार बनाउने सहमति भएको थियो।

धिताल नेता बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादीका नेता भएपनि केन्द्रमा पार्टी एकिकरणको प्रक्रिया अगाडि बढेकाले माओवादीले उनलाई सहर्ष रुपमा सभामुखमा स्विकारेको हो।

गण्डकीमा कांग्रेसका २७, एमालेका २१, माओवादी केन्द्रका ८, राप्रपाका २ र एक जना स्वतन्त्र सांसद छन्।

उपसभामुखको निर्वाचन यही माघ २ गते हुने छ। भागबन्डाका क्रममा उपसभामुख एमालेको भागमा परेपनि कसलाई उमेदवार बनाउने भन्ने निश्चित भएको छैन।

पुष ३०, २०७९ शनिबार १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।