श्रीमतीलाई अन्तिम पटक भेट्न दिएर इरानमा बेलायती नागरिकलाई फाँसी दिइयाे

श्रीमतीलाई अन्तिम पटक भेट्न दिएर इरानमा बेलायती नागरिकलाई फाँसी दिइयाे

एजेन्सी : बेलायत र इरानको दोहोरो नागरिकता भएका अलिरेजा अकबरीलाई फाँसी दिइएको छ।

बुधबार अकबरीको परिवारलाई जेलमा भेट गर्न दिएपछि फाँसी दिइएकाे इरानकाे सरकारी सञ्चारमाध्यमले जनाएकाे छ। उनलाई एक ठाउँमा एक्लै बन्दी बनाएर राखिएको अकबरीकी श्रीमतीले बताइन्।

अलिरेजा अकबरी इरानका पूर्व उप-रक्षामन्त्री थिए। उनी सन् २०१९ मा पक्राउ परेका उनलाई बेलायतका लागि जासुसी गरेको आरोप लागेको थियो। उनले यी आरोपहरू अस्वीकार गर्दै आएका थिए।

बेलायतले इरानलाई अकबरीलाई दिइएको मृत्युदण्ड रोक्न र जतिसक्दो चाँडो रिहा गर्न आग्रह गरेको थियो। शुक्रबार बेलायती विदेश सचिव जेम्स क्लिभरलीले इरानले मृत्युदण्डकाे सजायमाथि पुनर्विचार गर्नुपर्ने बताएका थिए।

ट्विटमा उनले लेखेका थिए, 'यो मानव जीवनको कदर नगर्ने बर्बर शासनको राजनीतिक रूपमा प्रेरित कदम हो।'

इरानले यसै साता गरेकाे एक भिडियो पोस्टमा अकबरीले आफूमाथि लगाइएको आरोप स्वीकार गरेको देखिन्छ। यद्यपि उनलाई यी आराेप स्वीकार गर्न बाध्य पारिएको देखिन्छ।

यसअघि बीबीसी पर्शियन सेवालाई दिएको अडियो सन्देशमा उनले आफूमाथि लागेको आरोप स्वीकार गर्न यातना दिइँदै आएको बताएका थिए। उनले आफूले आरोप अस्वीकार गरेको बताएका थिए।

पुष ३०, २०७९ शनिबार १२:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।