मेस्सीलाई अल हिलालबाट प्रस्ताव नआएकाे बालागकाे दाबी
एजेन्सी : अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेस्सीलाई साउदी अरेबियाको अल हिलाल क्बलले ३० करोडको अफर गरेको समाचार बाहिरिएपछि स्पेनी फुटबल विशेषज्ञ गुइलाम बालागले त्यस्तो अफर नआएको स्पष्ट पारेको छ।
पेरिस सेन्ट–जर्मेनका फरवार्डसमेत रहेका मेस्सीलाई अल हिलालले सम्पर्क नगरेको र साउदी अरब जाने विचारसमेत नभएको उनले बताएका हुन्। उनलाई साउदी अरेबियाको क्लबले वार्षिक ३० करोड डलर दिनेगरी प्रस्ताव गरिएको समाचार बाहिरिएका थिए।
पीएसजीसँग मेस्सीको सम्झौता गर्मी महिनामा सकिँदैछ तर बालागका अनुसार उनी पुनः पीएसजीमा रहने सम्झौताको अन्तिम चरणमा छन्।
‘अल हिलालबाट कुनै प्रस्ताव आएको छैन,’ उनले भने, ‘पिएसजी र मेस्सीबीच उनलाई पेरिसमै राख्ने सम्झौतालाई अन्तिम रूप दिन अर्को केही हप्तामा बैठक हुँदैछ।’
मेस्सीले गत महिना कतारमा सन् १९८६ पछि पहिलो पटक अर्जेन्टिनालाई विश्वकप जिताउन मद्दत गरेका थिए। उनले विश्वकपछि पनि आफ्नो देशको लागि खेल्न जारी राख्ने बताएका थिए।
मेस्सी २०२१ मा बार्सिलोनाबाट पीएसजीमा आबद्ध भएका थिए र उनले लिग १ का लागि ५४ खेलमा २४ गोल गरेका छन्।
पुष ३०, २०७९ शनिबार ०९:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।