शाखा अधिकृतमाथि एक करोड ६ लाख भ्रष्टाचारको मुद्दा

शाखा अधिकृतमाथि एक करोड ६ लाख भ्रष्टाचारको मुद्दा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सुकेधाराका पूर्व निमित्त प्रमुख गणेशप्रसाद पोखरेलले गैर कानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पोखरेलविरुद्ध १ करोड ६ लाख रुपैंया बिगो माग दाबी सहित आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र सुकेधारा चाबहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख रहेका पोखरेल हाल राष्ट्रिय भूमि आयोगमा शाखा अधिकृतको रूपमा कार्यरत छन्।

२०४६ असार १ मा सेवा प्रवेश गरेका उनीमाथि उजुरी परेपछि अख्तियारले २०७८ फागुन १५ सम्मको सम्पत्ति जाँचबुझ गरेको थियो।

अनुसन्धानको अवधिमा उनले ४ करोड ३७ लाख रुपैंया सम्पत्ति जोडेको भेटिएको हो। छानबिन हुँदा उनले ३ करोड ३१ लाख रुपैंयामात्रै कानुनी रूपमा आर्जन गरेको खुलेको अख्तियारको दाबी छ।

स्रोत नखुलेको सम्पत्ति जफत हुनुपर्ने माग राख्दै अख्तियारले मुद्दा दायर गर्दै अख्तियारले उनकी श्रीमती विमला न्यौपाने पोखरेललाई समेत प्रतिवादी बनाएको छ।

यातायात कार्यालयका शाखा अधिकृत पोखरेलले पारिश्रमिक बाहेक घर बहाल, बिमा, रेमिटेन्स, मोटरसाइकल विक्री, शेयर लगायतबाट सम्पत्ति जोडेको अभियोग पत्रमा दाबी गरिएको छ।

पुष २९, २०७९ शुक्रबार २०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।