भारतीय सिनेमाको पहिलो हिरोइन देविका, जसले पहिलो फिल्ममै दिइन् ४ मिनेटको चुम्बनको दृश्य
एजेन्सी : आजकलका फिल्ममा चुम्बनका दृश्य नौलो रहेनन्। अझ हलमा नदेखाइने र ओटिटि प्लेटफर्ममा मात्र रिलिज हुने सिनेमाहरूमा त चुम्बन मात्रै इन्टिमेट सिनसमेत हुनेगर्छ।
तर, आजभन्दा करिब ९० वर्षअघि भारतीय चलचित्रमा नायिकाले पहिलोपटक चार मिनेटको चुम्बनको सिन दिइन्।
यसले तत्कालीन इस्ट इन्डियाभर हंगामा मच्चियो। महिलालाई घरबाट बाहिर निस्कन नदिने त्यो समयमा देविका रानी चौधरीले फिल्ममा चार मिनेटसम्म चुम्बनको सिन दिँदा अधिकांश मानिस अचम्मम परेका थिए।
३० मार्च १९०८ मा आन्द्र प्रदेशको वाल्टेयर नगरमा जन्मिएकी देविका रानी एक समृद्ध बंगाली परिवारकी छोरी थिइन्। उनका बुवा कर्नल एमएन चौधरी भारतको पहिलो सर्जन जनरलसमेत बनेका थिए।
९ वर्षको उमेरमा नै देविका रानीलाई पढ्का लागि बेलायत पठाइएको थियो। पढाइ सकेर फिल्ममै करियर बनाउने संकल्प लिएर उनी तत्कालीन इस्ट इन्डिया फर्किइन्।
बेलायतको रोयल एकेडेमी अफ ड्रामाटिक आर्टमा अभिनयको विधिवत अध्ययन गरेकी उनले आर्किटेक्चरमासमेत डिप्लोमा गरेकी थिइन्।
इस्ट इन्डिया फर्केपछि देविकाले फिल्म निर्माता बुसरा बल्फलाई भेटिन्। उनको वास्तुशिल्प कौशलबाट बुसरा प्रभावित भए र डिजाइनरको रूपमा नियुक्त गरे।
यसैबीच उनको भेट चर्चित निर्माता हिमांशु रायसँग भयो। देविकाको सौन्दर्य देखेर हिमांशु भुतुक्कै भए र सन् १९३३ मा फिल्म ‘कर्मा’ मा काम गर्ने प्रस्ताव राखे।
फिल्ममा काम गर्ने चाहना राखिरहेकी देविकालाई भनेजस्तै भयो र खुसीसाथ प्रस्ताव स्वीकार गरिन्। फिल्ममा देविकाको नायक स्वयं हिमांशु राय नै बने।
यो भारतीयले बनाएको पहिलो अंग्रेजी फिल्मसमेत हो। फिल्ममा पहिलो पटक चार मिनेटको चुम्बन दृश्य देखाइएको थियो। त्यसपछि देविकाको चौतर्फी आलोचना मात्र भएन फिल्ममाथि नै प्रतिबन्ध लगाइयो।
फिल्म प्रतिबन्ध लगाए पनि हिमांशु र देविकाको सम्बन्धमा कसैले प्रतिबन्ध लगाउन सकेन। उनीहरू विवाह गरेर मुम्बई गए। हिमांशुले सन् १९३६ मा अछुत कन्या, १९७७ मा जीवन प्रभात र १९३९ मा दुर्गाजस्ता पौराणिक चलचित्रहरूसमेत बनाएका छन्।
विवाहपछि देविकाले श्रीमानसँग मिलेर ‘बम्बे टकीज’ नामक स्टुडियो खोलिन्। जसको ब्यानरमा अशोक कुमार, दिलीप कुमार, मधुबाला र राज कपूर जस्ता स्टारहरूको अभिनय रहेको सुपरहिट फिल्महरू आए। दिलीप कुमारलाई फिल्म उद्योगमा ल्याउने श्रेय पनि देविकालाई जान्छ।
यसैबीच देविकाको श्रीमान् हिमांशुको मृत्यु भयो। श्रीमान्को मृत्युपछि उनले स्टुडियोसमेत छाडिन्। यसले उनी टुटेकी थिइन्। यसैबीच उनले रूसी चित्रकार स्वेतोस्लाब रोरिचलाई भेटिन्। मन मिल्यो अनि विवाह पनि गरिन्। स्वेतोस्लाबसँगको विवाहपछि उनले फिल्म क्षेत्रलाई पूर्ण रूपमा छाडिन्।
देविकालाई भारत सरकारले फिल्म उद्योगमा उत्कृष्ट योगदान गरेको भन्दै सन् १९६९ मा दादासाहेब फाल्के पुरस्कार दियो। यो पुरस्कारको पहिलो विजेता देविका नै थिइन्।
यसपछि देविका फिल्म उद्योगतर्फ पद्मश्रीबाट सम्मानित हुने पहिलो महिला पनि बनेकी थिइन्।
पुष २९, २०७९ शुक्रबार १९:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।