एन्फाको आकस्मिक कार्यसमिति बैठक : पेलको निधनमा शोक प्रस्ताव पारित, अन्य के–के?

एन्फाको आकस्मिक कार्यसमिति बैठक : पेलको निधनमा शोक प्रस्ताव पारित, अन्य के–के?

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले महान् ब्राजिलियन फुटबल खेलाडी पेलेको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

शुक्रबार बसेको एन्फाको आकस्मिक कार्यसमिति बैठकले पेलेको निधनमा शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको हो।

यस्तै, बैठकले शहीद स्मारक एक डिभिजन लिग फागुन १९ र बी डिभिजन लिग चैत १५ गतेबाट सुरू गर्ने निर्णय गर्दै ए डिभिजन लिग आयोजनका लागि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ्गको संयोजकत्वमा सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरू र सदस्यहरू सदस्य रहनेगरी लिग सञ्चलाक समिति गठन गरेको छ।

त्यसैगरी, बैठकले ए डिभिजन लिगको भीआईपी प्यारापिटतर्फको टिकट मूल्य ३ सय रूपैयाँ र साधारण प्यारापिटतर्फको मूल्य १ सय रूपैयाँ कायम गर्दै बी डिभिजनको लिगको टिकट मूल्य १ सय रूपैयाँ तोकेको छ।

टिकेटिङ्ग अधिकारको लागि न्यूनतम १ करोड ५० लाख र शीर्षक प्रायोजक बाहेकका कमर्सियल र मार्केटिङ्ग अधिकारको लागि न्यूनतम १ करोड ५० लाख तोकेर टेन्डर आह्वान पनि एन्फाले गर्ने भएको छ।

ए, बी र सी डिभिजन लिगको ब्रोडकास्टिङ्ग अधिकारको लागि न्यूनतम ६० लाख तोकेर टेन्डर आह्वान गर्ने निर्णय गरेको एन्फाले तीनवटै लिग आयोजनामा आवश्यक पर्ने सेवा तथा सामग्रीको लागिसमेत टेन्डर आह्वान गर्न एन्फा सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

त्यसैगरी एन्फाले अखिल भारतीय फुटबल महासंघले नेपाली राष्ट्रिय महिला टोलीलाई यहि फेब्रुअरी १३ देखि १५ सम्ममा भारतमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रस्ताव स्वीकार गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।

पुष २९, २०७९ शुक्रबार १७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।