अबिर र खादासहित थुनामुक्त भएका सन्दीपले भने- 'छिट्टै क्रिकेटमा फर्कन्छु'
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने तीन महिना आठ दिनपछि शुक्रबार थुनामुक्त भए।
बिहीबार उच्च अदालत पाटनलाई उनलाई शर्तैशर्तसहित २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएसँगै उनी शुक्रबार थुनामुक्त भए। थुनामुक्त भएपछि उनलाई अबिर र खादा लगाएर स्वागत गरिएकाे थियाे।
थुनामुक्त भएसँगै उनले मिडियाकर्मीमाझ आफू छिट्टै क्रिकेटमा फर्कने बताएका छन्। थुनाबाट निस्कने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले आफू छिट्टै र पहिलाको भन्दा झन् राम्रोसँगै मैदानमा फर्कने प्रतिक्रिया दिए।
शुक्रबार थुनामुक्त भएसँगै उनी बुढानीलकण्ठस्थित आफ्नो घरमा बस्नेछन्। उनलाई अदालतले विदेश जान रोक लगाएको छ भने काठमाडौं उपत्यका छाड्नुपर्दासमेत अनुमति लिएर मात्र छाड्न निर्देशन दिएको छ।
नाबालिग बलात्कार आरोपमा प्रहरीले उनलाई गत असोज २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय अदालतबाट पक्राउ गरेको थियो।
त्यसअघि उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा किशोरीका दाजुले किटानी जाहेरी दिएका थिए। जाहेरीमा भदौ ५ गते राति सन्दीले सिनामंगलको एक होटलमा बलात्कार गरेको आरोप लगाइएको थियो।
जिल्ला अदालतमा भएको थुनछेक बहसले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएसँगै उनी कात्तिक १९ गते सुन्धारास्थित केन्द्रीय कारागार चलान गरिएको थियो।
पुष २९, २०७९ शुक्रबार १६:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।