धरौटीमा छुट्दा सन्दीपको विजेता भाव, क्रिकेटमा चाँडै फर्कने दाबी

धरौटीमा छुट्दा सन्दीपको विजेता भाव, क्रिकेटमा चाँडै फर्कने दाबी

काठमाडौं : २० लाख धरौटी अनि कडा पाँच सर्तको आधारमा कारागार बाहिरै बसेर मुद्दा लड्ने अनुमति पाएका क्रिकेटर सन्दीप लामिछाने विजयी भाव देखाउँदै खादा/माला लगाउँदै केन्द्रीय कारागारबाट रिहा भए।

उच्च अदालत पाटनले मुद्दा प्रभावित पार्न सक्ने कारणको विश्लेषण गर्दै कडा पाँच सर्तको अधीनमा बस्ने गरी उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो। त्यसैको आधारमा उनी धरौटी बुझाएर शुक्रवार कारागारबाट मुक्त भए।

सन्दीपले सफाइ पाएका हैनन्। उनी अहिले पनि नाबालिग बलात्कारका अभियुक्त हुन्। पीडित किशोरी अहिले पनि मनोपरामर्शमा छिन्। सन्दीप भने विजयी भावमा कारागारबाट निस्कँदै चाँडै क्रिकेटमा फर्कने दाबी गरे।

तीन वर्ष बढी कैद सजाय हुनसक्ने गम्भीर अपराधमा धरौटी ननिस्कने कानुनी प्रावधान छ। तर उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्ने १६ आधारको विश्लेषण गर्दै त्यसबारे पीडितपक्षले बलियो आधार पेस गर्न नसकेको भन्दै धरौटीमा छाड्न आदेश दिए।

मुद्दाको पीडितलाई प्रभावमा पार्ने, प्रमाण नष्ट गर्न सक्ने, विदेश भाग्नसक्ने जस्ता आधार नदेखिएको दाबी गरेको केसले सन्दीपलाई पाँच सर्त समेत राखेको छ जुन उलङ्घन गरे उनी पुन कारागार फर्कने छन्।

कुनै पनि प्रकारले पीडित त पीडितसँग जोडिएका पक्षसँग सम्पर्कमा नआउने, काठमाडौं बाहिर जान परे प्रहरीलाई अग्रिम जानकारी दिनुपर्ने, विदेश जान नपाउने, मुद्दाबारे कहिँकतै बोल्न/लेख्न नपाउने अनि प्रहरीले उनको कल डिटेलको रेकर्ड राख्नुपर्ने सर्त राखेको छ।

यस्तै केही सर्त सालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा रवि लामिछानेलाई धरौटीमा छाड्दा पनि चितवन जिल्ला अदालतले राखेको थियो। त्यसको मुख्य सर्त मुद्दा प्रभावित बनाउन नहुने उल्लेख थियो। तर रविले कार्यक्रम चलाउँदै आफ्नो पक्षमा वकालत गरेका थिए।

अदालतले तोकेको सर्त कडा छन्। तर अनुगमनको प्रहरी संयन्त्र कमजोर छ। उनले सार्वजनिक रूपमा गर्ने गतिविधि, विदेश र काठमाडौं बाहिर जाने बाहेक अन्य गतिविधिको अनुगमन कठिन देखिन्छ।

शुक्रबार कारागार मुक्त हुँदाहुँदै आफूले आफ्नो परिवारबाहेक केही सोच्न नसकेको बताए। अनि क्रिकेटमा चाँडै फर्कने दाबी समेत गरे। उनका वकिलले त सफाइ पाए समान क्रिकेटको राष्ट्रिय टिमकै कप्तान बनाउनुपर्ने माग गरेका छन्।

सन्दीपले सफाइ पाएका हैनन्। कारागार भित्रबाटै मुद्दामा सहभागी गराउने कि कारागार बाहिरबाट भन्ने विकल्पमा काठमाडौं जिल्ला अदालतले मुद्दाको टुङ्गो नलागेसम्म कारागारमा राख्न दिएको आदेश उच्च अदालत पाटनले उल्टाएर धरौटी निकालेको हो। सफाइ नपाएसम्म कानुनतः उनीमाथिको निलम्बन कायम हुन्छ। निजी प्रतियोगितामा भने उनी सहभागी हुन सक्छन्।

सन्दीपमाथि एक किशोरीलाई नगरकोट लगेर काठमाडौं फर्काई एयरपोर्टको एक होटलमा लगेर बलात्कार गरेको अभियोग छ। उनले घटना भएको दाबी गरिएको रात युवतीसँगै कोठामा बसे पनि बलात्कार भने नगरेको दाबी गरेका थिए।

किशोरीको स्वास्थ्य परीक्षण प्रतिवेदन र होटलको क्लोज सर्किट टेलिभिजनको फुटेज सन्दीप विरुद्धको बलियो प्रमाण बनेको थियो। किशोरीको उमेर १८ मुनि कि माथि भन्ने विवाद भने जारी छ। १८ वर्ष माथि देखिए मुद्दा जबर्जस्ती करणी हो हैनमा केन्द्रित हुनेछ। १८ मुनि नै पुष्टि भए र सो रात दुबैबिच सम्बन्ध भएको पुष्टि भए स्वतः बलात्कार हुनेछ।

पुष २९, २०७९ शुक्रबार १६:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।