अन्ततः १६ महिना २७ दिनपछि एकै कित्तामा उभिए माधव र घनश्याम
काठमाडौं : एमाले विभाजन भएको १६ महिना २७ दिनपछि घनश्याम भुसाल माधवकुमार नेपालकै कित्तामा उभिएका छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घनश्याम भुसालले माधवकुमार नेपाल नेतृत्त्वको एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गरेका हुन्।
एमालेले प्रतिनिधि सभाको टिकट नदिएपछि तीन महिनाअघि भुसालले एमाले छाडेका थिए। एमालेले घनश्यामको साटो छविलाल विश्वकर्मालाई टिकट दिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्दै पार्टी छाडेका थिए।
त्यसपछि उनले रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनलाई तत्कालीन सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले साथ दिए पनि विजयी हुन भने सकेनन्।
शुक्रबार एकीकृत समाजवादी प्रवेशको क्रममा पनि उनले ओलीमाथि तीतो पोखे। एमालेमा सिद्धान्तभन्दा बढि व्यक्ति हावी भएको भन्दै उनले त्यसका कारण कम्युनिष्ट आन्दोलन कमजोर भएको टिप्पणी गरे।
ओलीलाई संविधानविरोधी, लोकतन्त्र विरोधी, सिद्धान्त र विचार विरोधी, तर्क र विज्ञानको विरोधी, असहिष्णुजस्ता आरोपहरू लगाउँदै भुसालले व्यक्तिवादी हठ छउन्जेल एमाले कम्युनिष्ट पार्टी हुनै नसक्ने टिप्पणी गरे।
२०७८ भदौ २ गते एकीकृत समाजवादी पार्टी गठन गर्दा घनश्याम भुसालले आफू एमालेमै रहने भन्दै माधवकुमार नेपालको साथ छाडेका थिए।
त्यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा उनी नेपालको पक्षमा रहेर उनलाई साथ दिएका थिए। जब पार्टी फुटाउने कुरा आयो, तब भुसालसहितका १० जना एमालेमै रहेका थिए।
पुष २९, २०७९ शुक्रबार १६:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।