गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन्। गण्डकी प्रदेशको ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री अधिकारीको पक्षमा ३१ र विपक्षमा २७ मत परेको छ।

नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले अधिकारीको पक्षमा मत हालेका हुन्। ६० सदस्यीय प्रदेसभामा आवश्यक बहुमत संख्या ३१ हो।

सभामुखको भूमिका निर्वाह गरेका एमालेका जेष्ठ सदस्य मित्रलाल बस्याल मतदान प्रक्रियामा सहभागी भएनन्।

यसअघि मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश प्रमुख पृथ्बीमान गुरुङलाई बुझाएको नामावलीमा हस्ताक्षर गरेका स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) मतदान प्रक्रियामा अनुपस्थित भए।

मनाङेले सरकार बनाउँदा मुख्यमन्त्री अधिकारीलाई समर्थन गरे पनि विश्वासको मत नदिने घोषणा गरेका थिए। 

नेकपा एमालेको संगठन विभाग प्रमुख समेत रहेका खगराज अधिकारी मुख्यमन्त्रीको आकांक्षासहित संघीय सांसदको उम्मेदवार नबनी गण्डकी प्रदेशसभा सदस्यमा उमेदवार बनेर कास्की १ ‘क’बाट निर्वाचित भएका थिए।

यसअघि स्वास्थ्य र गृहमन्त्री समेत भएका अधिकारीलाई पार्टीका उपमहासचिव पृथ्बी सुब्बा गुरुङले संसदीय दलको नेता हुनबाट रोक्ने योजना बनाएको थिए।

तर, पार्टी अध्यक्ष खड्ग प्रसाद ओलीको सल्लाहमै प्रदेशको मुख्यमन्त्री बन्ने योजना सहित प्रदेशमा लडेकाले पृथ्बीसुब्बा गुटको केही चले। गण्डकीको संस्थापक मुख्यमन्त्री बनेका पृथ्बीसुब्वा यस पटक पनि प्रदेशमै चुनाव लड्न चाहेका थिए।

तर, खगराजलाई मुख्यमन्त्री बनाउने योजना सहित पार्टी अध्यक्ष ओलीले उमेदवार बनाएपछि उनी लमजुङबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्न बाध्य भएका थिए। 


 

पुष २९, २०७९ शुक्रबार १६:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।