कान्तिपुर गाथा : काँचको पर्दामा प्यूसो कमारोको चर्को भाषण
लामै समय भयो केही लेखेको छैन। कहिलेकाहिँ ट्विट लेखिन्थ्यो। कहिलेकाहिँ फेसबुकमा धाराप्रवाह ‘भावनात्मक’ निवन्ध लेखिन्थ्यो। मेरो लेखाइ डिजिटल जगतका भाइहरूलाई मन परेनछ क्यारे। ट्विटर र फेसबुक दुवै ह्याक गरिदिए।
मैले फेसबुकमा जुनदिन सन् १९८२ तिर अमेरिकाको क्यालिफोर्निया राज्यमा खिचेको एउटा आफनो तस्वीर पोष्ट गरेको थिएँ, त्यही दिनदेखि मेरो फेसबुक गायब भयो। मैले पोष्ट गरेको त्यही तस्वीर ह्याकरको शिकार भयो।
त्यसपछि शुरु भयो बेकारको तनाव। कसले किन ह्याक गर्याे, कसले किन ह्याक गरायो? चासो र सोधखोजको नयाँ गोरखधन्दा शुरू भयो जीवनमा। नयाँ ज्ञान भयो, ह्याकिङ त बडो चालु धन्दा रहेछ।
धेरै पहिलेदेखि डिजिटल पत्रकारितामा रुचि राख्ने भाइ पत्रकार उमेश श्रेष्ठ 'शालोक्य'ले निकै कडा मेहनत गरेर ह्याकरको कब्जामा परेको मेरो ट्विटर अकाउण्ट हिजोदेखि फिर्ता ल्याइदियो। यता, फेसबुक फिर्ता ल्याउन नेपाल प्रहरीको साइबर ब्यूरो लागेको छ। त्यो कहिले फिर्ता आउँछ कि आउँदैन? भन्न सक्दिन।
मैले पाएको जानकारीका आधारमा नेपाल सरकारको फेसबुक सञ्चालक कम्पनी मेटासँग राम्रो सम्बन्ध छ। गएको चुनावमा सरकारले मेटासँग मद्दत लिएको थियो तर सरकारको ट्विटरसँग त्यस्तो सम्बन्ध छैन।
मेरो ट्विटर र फेसबुक ह्याक भएको कारण मलाइ थाहा छैन। अक्षरको दुनियाँमा रमाएको पचपन्न वर्ष भइसक्याे। धेरै होलान् मेरा ‘शुभचिन्तक।’
गएको साता एउटा प्यूसो एउटा टेलिभिजनमा टेलिभिजनको पर्दा नै फोड्ने जोशका साथ चर्को आवाजमा मेरा विरुद्ध तथानाम भाषण गर्दै थियो। भाषण बडो आक्रामक थियो।
उसको भाषण सुनेर म हाँस्दै थिएँ। देशमा राजा भइसकेका मानिसहरूको तावेदारीमा जीवन बिताएका मानिसको मानसिकता स्खलित हुनु त स्वभाविक नै भयो।
उसको जीवनको एउटा रोचक घटना छ– पाँच वर्षअघि उसले काठमाडौंबाट चुनाव हारेको थियो प्रकाशमान सिंहसँग। पाँच वर्षपछि पनि उसले प्रकाशमान सिंहसँगै चुनाव हार्याे।
प्रकाशमान र उसका बीचमा कति मतको अन्तर थियो? यो त कुनै प्रश्न नै भएन। एक मतले जिते पनि प्रकाशमान जित्यो। एकहजार मतले जिते पनि प्रकाशमान जित्यो। प्रकाशमानका अगाडि त्यो प्यूसोको राजनीतिक हैसियत नै देखिएन।
यस्तो परिदृश्यमा उसले म प्रति वीषवमन गर्नुको कारण के हुन सक्दछ? ऊ मालिकहरूले पढाएर बढाएको कमारो योनीको मानिस। म परेँ मालिकहरूका विरुद्ध झण्डा उचालेर हुर्किएको कान्तिपुरको ठिटो।
पाँच वर्षअघि चुनावको रिपोर्टिङ गर्ने क्रममा उसका बारेमा मैले जे पत्ता लगाएर लेखेको थिएँ, त्यो जनताले पत्याए। ऊ स्खलित भयो।
मैले लेखेका विषय उसलाई घिनलाग्दो लाग्नु स्वाभाविक थियो। किनकी त्यहाँ उसको घिनलाग्दो छवि जो उदाङ्गाे भएको थियो। आफ्नै अनुहार सम्झँदा दिङदिङ लाग्यो होला उसैलाई।
वैकल्पिक राजनीतिको बर्कोमा लुकुन्जेल ऊ मौन बस्यो। जब ऊ मृत राजतन्त्रको शरणमा गएर सत्ताधारी बन्यो बल आयो अनि सत्ताको बलमा ध्वांश दियो। उसका मालिक ज्यूँदै हुँदा योभन्दा ठूला ध्वाँस पचाएको मान्छेलाई प्रेतात्माको आडमा दिएको मसाने ध्वाँसले के हल्लाउथ्यो र!
यो पटक त मैले त्यसको घिनलाग्दो अनुहार सम्झिँदा पनि सम्झिइन। आवश्यकै लागेन।
त्यो अदृश्य मानिसको अदृश्य चरित्रका बारेमा यति लेख्नु आवश्यक नै थिएन। साथीहरूले भने, त्यसले त टेलिभिजनमा तेराविरुद्ध तथानाम बोल्यो। ऊ कमारो हो। कमारोकै भाषा बोल्छ। मालिकका टेलिभिजनमा गएर चिच्याउँछ। उसको पेशा नै त्यही हो। के नौलो भयो र! त्यो गर्जने म चिन्तित पो भएँ कि भनेर चिन्ता गरिरहेका शुभचिन्तकका लागि म मस्त छु भन्न यति लेखेँ।
अब छोटो राजनीतिको कुरा। आउँदो केही समयसम्म संघीय संसदमा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेसपछिको ठूलो दल एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली
घ्यू बेचुवा र तरबार बेचुवाको भूमिकामा देखिनेछन्।
अस्ति भर्खरै संसदमा बोल्दै एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले राजा महेन्द्रले आफ्नो तानाशाही स्थापित गर्न गरेको निर्वाचित संसद विघटनलाई बेलायतको संसदीय परम्परा अनुकूल ठहर्याउने प्रयास गरे। जुन गलत थियो।
संसद शुरू भएको दोस्रो दिनमै शुरू भएको विघटनको चर्चा सुहाउँदो हुने कुरै भएन। अघिल्लो संसद २ पटक विघटन गर्ने प्रयास असफल भएपछि उनको मन कति कुँडिएको रहेछ नयाँ संसदमा देखाए। संसद विघटनमा देउवालाई गुरु थापेको झुट बोले। तर ओलीले गलत बोलिरहँदा पनि त्यसका विरुद्ध एक जना सांसद पनि उभिएनन् प्रतिरोधमा।
सिध्दान्त, मूल्य पद्दती र मान्यताका विपरीत चलेको छ राजनीति नेपालमा। आफूलाई सत्तापक्षका कार्यकारी नेताको थान्कोमा राख्ने ओली र पहिले हातमा आएको सत्ता गुमाएर पछि सत्तापक्षमा कब्जा गर्ने मनसाय राखेका शेरबहादुर देउवाले एकअर्कालाई घ्यू बेचुवा र तरबार बेचुवाका रूपमा प्रस्तुत गरेका छन्।
अब यस्तो देशमा कसरी आउँछ परिवर्तन, जहाँ राजनीति फटाहको पेशा हुँदै गएको छ?
यस्तोमा प्रचण्डजी गडगडाएका छन्। यतिबेला उनको मनमा देश विकासको संकल्प छ। आर्थिक विकासको हुटहुटी पनि छ। उनी कम्युनिष्ट हुन्। केशरजङ्ग र केपी ओली जस्ता खेलाडी होइनन्। उनलाई चुनावको महत्त्व थाहै छैन। उनका पार्टीका साथी र सहयोगीले उनलाई बेलाबखत देश भ्रमणमा लैजान खोजे पनि उनी गएनन्।
आखिर उनले शान्ति प्रक्रियाका आफ्ना शुभचिन्तक स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालालाई देखेकै हुन्। उनले खूब घुमे देश। तर, त्यसको फाइदा उठाए शेरबहादुर देउवाले। राजनीतिको खेल यस्तै हुन्छ। त्यो खेलको चर्चा गर्नु नै व्यर्थ छ।
यो साता गाथा लेखिएको छ। अर्को साता ज्यानले के गर्छ? भन्न सकिन्न। थाहा छ : गाथाभन्दा महत्त्वपूर्ण अरु केही छैन। तर? यो ‘तर’ ले मनमा अंकुश किन लगाउँछ।
पुष २९, २०७९ शुक्रबार १५:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।