फेरि नेपाली क्रिकेट टिममा फर्किएलान् त सन्दीप?

फेरि नेपाली क्रिकेट टिममा फर्किएलान् त सन्दीप?

काठमाडौंः नाबालिग बलात्कारको अभियोगमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछाने आज (शुक्रबार) थुनामुक्त भएका छन्। उच्च अदालत पाटनकाे आदेशमा केन्द्रीय कारागार, सुन्धारामा रहेका लामिछाने थुनामुक्त भएका हुन्।

पुर्पक्षका लागि कारागारमा राख्ने काठमाडौं जिल्ला अदालतकाे निर्णयलाई उच्च अदालत पाटनले उल्टाउँदै २० लाख रुपैयाँ धरौटीमा ५ वटा सर्तसहित उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

बलात्कारको आराेप लागेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेकाे थियाे। अदालतले धरौटीमा छाड्न आदेश दिएपछि लामिछानेका वकिलहरूले भने अब उनलाई स्वतः राष्ट्रिय टिमकाे कप्तानकाे रुपमा फर्काउनु पर्ने बताएका छन्।

यस विषयमा कानूनी छलफल भैरहकाे बताउँदै क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भने, ‘सबै कुरा सही भएमा सन्दीपकाे निलम्बन फुकुवा हुनेछ, तर अब उनलाई टिमकाे कप्तान भने बनाउन मिल्दैन, कप्तान राेहित नै हुने छन्।’

सन्दीप टिममा भने पक्का फर्कन्छन् त?

‘याे विषयमा हामीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग सल्लाह गरिरहेका छाैं। यस्तै घटना र अवस्था भएका अन्य देशकाे अभ्यास पनि हेरिरहेका छाैं,’ उनले भने, ‘नेपालकाे कानूनले पनि के भन्छ, त्याे पनि अध्ययन हुँदैछ। फैसलाको पूर्णपाठ पनि हेर्दैछाैं। कुनै पनि कुराले राेक्दैन भने उनलाई टिममा ल्याउन कुनै आपत्ति छैन।’

लामिछानेलाई बलात्कारको अभियोगमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएकोमा यो आदेश विरुद्ध सन्दीपको कानुन व्यवसायी २०७९ मङ्सिर २९ मा उच्च अदालत पाटनमा पुगेका थिए।

पुस २८ गतेको फैसलामा  २० लाख रुपैयाँ धरौटीमा ५ वटा सर्तसहित उनलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको थियो। न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएका हुन्।

धरौटीमा छाड्ने कारणहरूमा सन्दीपको मानसिक स्वास्थ्य ठिक नभएको र उनलाई पुर्पक्षका लागि कारागारमा राख्नुपर्ने कारण खुलाउन नसकेको उल्लेख छ।

नेपाल छाड्न नपाउने, कुनै पनि प्रकारले पीडित र उनीसँग सम्बन्धित व्यक्तिसँग भेट्ने, डर त्रास गराउने लगायतका काम नगर्ने, सामाजिक सञ्जाल वा अन्य माध्यममा मुद्दाबारे धारणा नराख्ने, काठमाडौँ बाहिर जाँदा प्रहरीलाई जानकारी दिनुपर्ने अनि सन्दीपको मोबाइलको निगरानी प्रहरी प्रधान कार्यालयले राख्ने सर्तमा उनलाई धरौटीमा छाड्न फैसला गरिएको हो।

फैसलामा यी कुनै पनि सर्त उलङ्घन गरेमा उनलाई फेरि कारागार चलान गर्ने समेत उल्लेख छ।

पुष २९, २०७९ शुक्रबार १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।