विदेशी मुद्रा सञ्चिती ६ प्रतिशत सुधार, १२ खर्ब, ९२ अर्ब पुग्यो

विदेशी मुद्रा सञ्चिती ६ प्रतिशत सुधार, १२ खर्ब, ९२ अर्ब पुग्यो

काठमाडौं : नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना (साउन–मङ्सिर) सम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार विदेशी मुद्रा सञ्चिति बढ्दै गएको छ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति मङ्सिर मसान्तमा आउँदा ६.३ प्रतिशतले बढेर १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको राष्ट्र बैङ्कले जनाएको छ।

यसबिचमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँमा हिसाब गर्दा ६ प्रतिशत भन्दा माथिले विदेशी विनियम सञ्चिति बढे पनि अमेरिकी डलरमा भने ३ प्रतिशतले बढेको देखिन्छ।

२०७९ असार मसान्तमा अमेरिकी डलरमा ९ अर्ब ५४ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७९ मङ्सिर मसान्तमा ९ अर्ब ८२ करोड कायम रहेको प्रतिवेदनमा उल्लेख  छ।

राष्ट्र बैङ्कमा रहेको कुल विदेशी सञ्चिति ११ खर्ब ३९ अर्ब २२ करोड पुगेको छ। बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैङ्कबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ५३ अर्ब ३४ करोड कायम भएको छ।

२०७९ मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको बैङ्कले जनाएको छ। गत आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात २०.७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको छ। रेमिटेन्स नेपाली रुपैयाँमा २३.० प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको राष्ट्र बैङ्कले जनाएको छ।

पुष २९, २०७९ शुक्रबार १४:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।