गण्डकी प्रदेशमा सभामुखको निर्वाचन पुस ३० गते हुने 

गण्डकी प्रदेशमा सभामुखको निर्वाचन पुस ३० गते हुने 

पोखराः गण्डकी प्रदेशमा सभामुखको निर्वाचन पुस ३० गते शनिबार हुने भएको छ। सरकार बनाउने विषयमा शनिबार हुने सर्वदलीय बैठकमा नै सभामुखको निर्वाचन गर्ने सहमति जुटेको हो।

गण्डकीमा भागबन्डामा एमालेको भागमा मुख्यमन्त्री परेको थियो भने माओवादी केन्द्रको भागमा सभामुख परेको छ। माओवादीबाट गण्डकीको मुख्यमन्त्री दावी गरेका हरिबहादुर चुमानलाई पार्टीले उनको नेतृत्वमा सरकारमा पठाउने निर्णय गरेपछि सभामुखमा भने गोरखा १ (क) बाट निर्वाचित कृष्ण धिताल उमेदवार बनाउने सहमति भएको छ। 

धिताल नेता बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादीका नेता भएपनि केन्द्रमा पार्टी एकिकरणको प्रक्रिया अगाडि बढेकाले माओवादीले उनलाई सहर्ष रुपमा सभामुखमा स्विकारेको हाे।

प्रदेशमा एमाले, माओवादी र राप्रपाको गठबन्धन सरकार बनाउने सहमति भएकाले धिताल गण्डकीको सभामुखमा विजयी हुने सम्भावना बढी छ। पार्टीका तर्फबाट सभामुखमा कृष्ण धिताललाई अगाडि बढाउने सहमति भएको माओवादीको केन्द्रीय सदस्य एवं गण्डकीको बिनाविभागिय मन्त्री हरि बहादुर चुमानले जानकारी दिए। 

यस्तै, उपसभामुखको निर्वाचन भने यही माघ २ गते हुनेछ। भागबन्डाका क्रममा उपसभामुख एमालेको भागमा परेपनि कसलाई उमेदवार बनाउने भन्ने निश्चित भएको छैन। 

पुष २९, २०७९ शुक्रबार १२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।