लुम्बिनी प्रदेशकाे सभामुख र उपसभामुखकाे चयन माघ ३ गते हुने
बुटवलः लुम्बिनी प्रदेशकाे सभामुख र उपसभामुखकाे चयन माघ ३ गते हुने भएको छ। स्थायी राजधानी दाङ देउखुरीमा प्रदेश सभाको बैठक माघ ३ गते बस्दैछ। सोही दिन प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चुनिने छन्।
सत्ता गठबन्धनको भागबन्डा अनुसार सभामुख माओवादी केन्द्रले पाउँनेछ भने उपसभामुख राप्रपाले पाउँनेछ। यद्यपि यी दुई दलले कसलाई सभामुख र उपसभामुख पठाउने भन्ने बारे निर्णय भने गरिसकेका छैनन्।
प्रदेश सभा सचिवालयले नेपालको संविधानको धारा १८२ को उपधारा (१) र लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाको सभामुख र उपसभामुख चयनको लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेकाे छ।
माघ २ गते सोमबार सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावहरुको सूचना दर्ता गर्ने कार्यतालिका छ। त्यस्तै, सोही दिन ५ः३० बजे सभामुख र उपसभामुख पदमा प्रस्तावित उम्मेदवारहरुको सूची प्रकाशन गर्ने कार्यतालिका छ।
माघ ३ गते मंगलबार भने सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव सदस्यहरुले प्रस्ताव गर्ने, समर्थक सदस्यहरुले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावहरु माथि संक्षिप्त छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने कार्यतालिका छ।
पुष २९, २०७९ शुक्रबार ११:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।