प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, प्रचण्डका ज्वाइँसहित तीन मन्त्री थपिँदै

प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, प्रचण्डका ज्वाइँसहित तीन मन्त्री थपिँदै

काठमाडौं: प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन्। प्रदेश सभाको प्रथम अधिवेशनको चौथो बैठक आज दिउँसो १ बजेबाट सुरु हुँदैछ।

उक्त बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नेछन्। लगत्तै प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ।

प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी सूचनामा भनिएको छ- 'नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं. १ को प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ को उपनियम (४) बमोजिम प्रदेश नं. १ का माननीय मुख्यमन्त्री श्री हिक्मतकुमार कार्कीले सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुहुने तथा निर्णयार्थ प्रस्तुत हुने।'

९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका एक गरी ६० सांसदको समर्थनमा मुख्यमन्त्रीमा कार्की नियुक्त भएका थिए।

यस्तै आजै मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् पनि विस्तार गर्ने भएका छन्। माओवादी केन्द्रका दुई जनालाई मन्त्री बनाइने भएको छ भने एमालेबाट पनि एक जना आज मन्त्री बन्नेछन्।

यसअघि नै एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरेका कार्कीले हालसम्म कुनै पनि मन्त्रालयको जिम्मेवारी दिएका छैनन्।

आज माओवादीबाट तेह्रथुमका दुर्गाप्रसाद चापागाईं र मोरङका जीवन आचार्य मन्त्री बन्ने भएका हुन्। आचार्य प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का ज्वाइँ हुन्।

यस्तै एमालेबाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी मन्त्री बन्नेछन्।

पुष २९, २०७९ शुक्रबार १०:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।