आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री

आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री

काठमाडौं: गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन्। एमालेका अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको गण्डकी प्रदेश सभा सचिवालयले जनाएको छ। अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दावी गरेपछि उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो।

अधिकारीलाई एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र निर्वाचित राजीव गुरुङले समर्थन गरेका छन्। मुख्यमन्त्री अधिकारी विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिने र बिनाविभागीय मन्त्रीको मन्त्रालय तय गर्ने योजनामा छन्।

हाल गण्डकीमा मुख्यमन्त्रीसहित चार मन्त्री नियुक्त भए पनि मन्त्रालयको टुङ्गो भने लाग्न सकेको छैन। एमालेकी सीता सुन्दास, माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङ मन्त्रीमा नियुक्त भएका थिए।

पुष २९, २०७९ शुक्रबार ०९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।