टिकटकबाट जुवा खेलाउने चार जना पक्राउ

टिकटकबाट जुवा खेलाउने चार जना पक्राउ

काठमाडौं: सामाजिक सञ्जाल एप टिकटकको लाइभबाट पनि जुवा खेल्ने गरेको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा केही व्यक्तिले ई–सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिमार्फत रकम जम्मा गराइ लाभ लिने उद्देश्यले टिकटकमार्फत रकमको बाजी राखी जुवा, तास खेलाउने गरेको सूचना आएपछि यसबारे खुलासा भएको हो।

उक्त सूचनाकै आधारमा कार्यालयले तत्काल टोली बनाइ ती गतिविधिको निगरानी गरेर उपत्यकाको ग्वार्काे, सूर्यविनायक, लोकन्थलीलगायत स्थानमा खोजी अभियान चलाउँदा टिकटक लाइभमार्फत जुवा खेल्दै र खेलाउँदै गरेको अवस्थामा चार जनालाई फेला पारिएको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए।

प्रहरीले जुवा खेलेको अवस्थामा दाङ घर भइ ग्वार्काे बस्ने ऋषिप्रकाश योगी, भक्तपुरको सूर्यविनायक बस्ने कपिल गिरी, भक्तपुरको थिमि बस्ने प्रेम कठाडत र कैलालीका डिल्लीराज अवस्थीलाई रङ्गेहात फेला पारी पक्राउ गरेर कारबाही थालेको छ।

उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को  दफा १२५ को उपदफा १ बमोजिम जुवा कसूरमा आवश्यक कारबाहीका लागि ललितपुर र भक्तपुरका सम्बन्धित प्रहरीमा बुझाइएको छ।

पक्राउ परेका मध्ये योगीले पब्जी र पब्जी–२ नामक टिकटक बनाइ दुई ई–सेवा वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाएर एक महिना १० दिनको अवधिमा जुवा खेलाएर रु २८ लाख ७३ हजार कारोबार गरेको पाइएको छ।

यस्तै गिरीले पोकर किङ नामक टिकटक खोली तीन ई–सेवा वालेटमा १० दिनको अवधिमा रु ५३ हजार रकम कारोबार गरेका छन् भने कडायत र अवस्थीले प्रेम नामक टिकटकमार्फत ई–सेवा वालेटमा एक महिना छ दिनको अवधिमा जुवा खेलाएर रु ९३ हजार कारोबार गरेको पाइएको छ।

चारै जनाको साथबाट टिकटक लाइभ जुवा, तास खेल्न खेलाउन प्रयोग गरेका मोबाइल, विभिन्न व्यक्तिका नाम र रकम उल्लेख भएको रजिष्टर, जुवा खेलाउन प्रयोग भएको ३२ बुक तासलगायत बरामद गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए।

पुष २९, २०७९ शुक्रबार ०७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।