अख्तियारका पूर्व आयुक्त र कलेज सञ्चालक भ्रष्ट ठहर, तीन-तीन वर्ष कैद हुने फैसला
काठमाडौं : नेपाल इन्जिनियरिङ कलेजको सम्बन्धन विवाद मिलाउन रकम मोलमोलाई गरेको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक र कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने दोषी ठहर भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको अभियोग पत्र अनुसार बिहीबार विशेष अदालतले दुवै जनालाई दोषी ठहर गर्दै ३ वर्ष कैद सजायको फैसला गरेको हो।
कलेजको सम्बन्धन विवाद आयोगमा पुगेपछि पाठकले सो मुद्दा मिलाउन न्यौपानेसँग ७८ लाख मागेको अडियो सार्वजनिक भएपछि पाठक छानबिनमा परेका थिए।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले पाठक र न्यौपाने दोषी ठहर गर्दै दुबैलाई ३ वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवानाको फैसला गरेको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए।
अख्तियारको आयुक्तको रूपमा घुस लिएकाले उनलाई ३ महिना थप कैद सजाय हुने फैसला भएको छ। पाठक र न्यौपानेबिचको लेनदेनबारे एक व्यक्तिले स्टिङ गरेर अडियो रेकर्ड गरेका थिए। सो रेकर्ड सार्वजनिक भएपछि पाठक कारबाहीमा परेका थिए।
पुष २८, २०७९ बिहीबार २०:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।