कर्णालीका मुख्यमन्त्रीसहित दुई बिनाविभागीय मन्त्रीले लिए शपथ

कर्णालीका मुख्यमन्त्रीसहित दुई बिनाविभागीय मन्त्रीले लिए शपथ

सुर्खेतः कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्मासँगै दुई बिना विभागीय मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। बिहीबार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शर्मासहित दुई मन्त्रीलाई शपथ ग्रहण गराएका हुन्।

बुधबार प्रदेश प्रमुख परियारले माओवादी केन्द्रका शर्मालाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

शर्माले माओवादीका १३, एमालेका १०, राप्रपा र समाजवादी १र१ गरि जम्मा २५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

यस्तै, नेकपा एमाले र माओवादी केन्द्रले एक-एक जना सांसदलाई सरकारमा पठाएका छन्। उनीहरुलाई पनि मुख्यमन्त्री शर्मासँगै प्रदेश प्रमुख परियारले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।

माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही र नेकपा एमालेबाट दैलेखका विनोदकुमार शाह बिनाविभागीय मन्त्री बनेका छन्। माओवादी केन्द्रका शाही मुगु प्रदेश सभा (२)बाट निर्वाचित भएका थिए भने शाह दैलेख निर्वाचन क्षेत्र–२ प्रदेश सभा (२) बाट निर्वाचित भएका हुन्।

पुष २८, २०७९ बिहीबार १७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।