१२ महिनामा सरुवा हुने प्रदेश प्रहरी प्रमुख नौ महिनामै बदलिए
काठमाडौं : विधि अनुसार काम गर्ने दाबी गरेका गृहमन्त्री रवि लामिछानेले सरुवा भएको नौ महिनामै नेपाल प्रहरीका प्रदेशको नेतृत्व बदलेका छन्। सामान्यतया कार्यक्षमता र कार्यशैलीमा कुनै त्रुटि नभई एक वर्ष अगाडि प्रहरीको सरुवा हुन्न। तर सरकार बदलिए लगत्तै नौ महिनामै प्रदेश प्रहरी कार्यालयका प्रमुख बदलेका छन्।
उनीहरूको सरुवा नियमित पनि हैन काज सरुवा हो। काजमा सरुवा भएका १७ जनामा प्रधान कार्यालय, नक्सालमा कार्यरत डिआइजी बसन्तबहादुर कुँवर मधेस प्रदेश प्रहरी कार्यालयमा पुगेका छन्।
मधेसका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आएका छन्। कर्णाली प्रदेशका प्रमुख पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालय, भीमप्रसाद ढकाल कर्णाली प्रदेश र प्रहरी प्रधान कार्यालयका डिआइजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा सरुवा भएको छ।
विशेष ब्युरोका अशोक सिंह सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुख बनेर गएका छन्। प्रहरी प्रवक्ता रहेका टेकप्रसाद राईले लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुख भएका छन्।
गण्डकी प्रदेशमा बुद्धिराज गुरुङ गएका छन्। प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा विमानस्थल सुरक्षा गार्डमा कार्यरत श्यामलाल ज्ञवाली पुगेका छन्। विमानस्थलमा किरण राणा आएका छन् भने विशेष ब्युरोमा सुदीप गिरी पुगेका छन्।
प्रहरी नियमावली अनुसार एसएसपी र डिआइजीपीको सरुवाको अधिकार गृहमन्त्रीसँग रहेको छ। एआइजीपीको सरुवा भने मन्त्रीपरिषद्ले मात्र गर्न सक्छ।
पुष २८, २०७९ बिहीबार १५:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।