राम्रो ड्रेसअपमा भूपीको समूह देखेर सानोमा टुलुटुलु हेर्थिन् उषा
वि.सं. २०१२ साल भदौ ६ गते पोखराको नालामुख स्थित गणेशटोलमा जन्मिएकी उषा शेरचनलाई प्रायः सधैं हँसिलो अनुहारमा देखिन्छ। किन तपाईंलाई सधैं यस्तो खुशी देखिन्छ नि भन्दा उनी भन्छिन्, ‘आफैंमा रमाउन सिकेको मान्छे असाध्यै भाग्यमानी हुन्छ। सायद म तिनैमा पर्छु होला।’
पेशाले साहित्यकार रहेकी उषा पोखरामा जन्मिए पनि पुर्ख्यौली थलो मुस्ताङको छैरो, थाकखोला रहेकाे बताउने उषाको हजुरबुवा भीमबहादुर, थकाली समाजका मुखिया थिए।
पोखरामा उषाको एक्लो थकाली परिवार थियो। जसले गर्दा छिमेकीहरूसँग उनको परिवारको बलियो एकता र मिलेमतो थियो। उनलाई नेपालीभन्दा पनि नेवारी बोल्न मज्जैले आउँथ्यो।
परिवारमा दुई छोरा र चार छोरीको सन्तानमा हुर्किएकी उषा सानैदेखि सोझी थिइन्। उनी बा-आमाले जे भन्थे त्यसमा ‘हस्’ भन्थिन् र खुरू-खुरू त्यो काम गर्थिन्। उनी उनकी आमाले हुर्काउन सबैभन्दा सजीलो भएको सन्तान थिइन्।
लुकेर पुस्तक पढ्दा
सानैदेखि आकाशको चन्द्रमा हेर्दै आँगनको एक छेउबाट अर्काे छेउसम्म पुग्ने उषालाई चन्द्रमा पनि आफैसँग हिंडे जस्तै लाग्ने गर्दथ्यो। उनी चन्द्रमालाई डोर्याउँदै परपर सम्म पुग्ने गर्थिन्।
उनले पछि पो बल्ल थाहा पाएकाे बताइन्, ‘चन्द्रमा जहाँको त्यहीं थियाे। म हिंडेर पो त्यस्ताे भ्रम भएको रहेछ।’
उनका पिताले पनि पढ्न पाएकाले छोरीहरू पढाउन पर्दछ भन्ने चेतना परिवारमा थियाे। तर उनकाे अभिभावकमा कोर्सभन्दा बाहिरका पुस्तक पढे भने छोरीहरू बिग्रन्छन् भन्ने धारणा थियो।
त्यसमा पनि अझ उपन्यास पढे भने छोरी खत्तमै भएर बिग्रने ठानिन्थ्यो। तर उषालाई यी सबै कुराहरूले केही फरक पार्दैन थियो। उनी लुकी-लुकी भएपनि रातभर किताब पढ्ने गर्थिन्।
त्यो बेला पढेको ‘अनुराधा’, ‘चपाइएका अनुहार’, ‘आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्’ जस्ता पुस्तकहरूले अहिले पनि उषामा गहिरो छाप छोडेका छन्।
त्यो समयको घटना सम्झँदै उषा भन्छिन्, ‘इन्दिरा भन्ने एउटी साथीले मलाई किताबहरू पढ्न दिने गर्थिन्। म ती किताबहरू आफ्नो कोर्सबुकको चाङको भित्र-भित्र लुकाएर राख्ने गर्थे र रातभर पढ्ने गर्थे।’
बालापनको रमाइलो
बत्ति नभएको रातमा आकाश हेर्न उषालाई खुब रमाइलो लाग्ने गर्दथ्यो। अँधेरी रातमा माथि-माथि चमचम चम्किरहेका तारामण्डल हेरेर उषा कहिल्यै अघाँउदिन थिइन्। उनलाई चन्द्रमाको कलाले आफ्नो मन हरे जस्तो लाग्ने गर्थ्यो। उनी बादलले आकाश ढाक्दा आश्चर्यमा पर्ने गर्थिन्।
उनी जङ्गल-जङ्गल चहार्दै अँगेरी, ऐंसेलु जस्ता फल खान जान मन गर्थिन्। आमाले भाइबहिनी हेर्न उषालाई घर नजीकैको चौतारीमा छाडिदिन्थिन्। उनी भाइबहिनीलाई आमाले नबोलाएसम्म भुलाइ रहन्थिन्।
एकपटक फिर्के खोलामा पौडी खेल्न जाँदा आफू डुबेको उषालाई अझै याद छ।
उनी भन्छिन्, ‘एकपटक वनभोज गएका बेला एकजना बहिनी र म डुब्यौं। पौडी खेल्दा-खेल्दै हामी गहिरो रहमा डुबेका थियौं। अन्य साथीहरू पनि हामीलाई देखेर डरले थुरथुर भएका थिए। धन्न, त्यही काम गर्ने एक जनाले हाम्रो ज्यान बचाए। यसपछि मैले कहिल्यै पौडी खेलिनँ। ’
अक्षरहरूको शिविरमा विवाह
मान्छेमान्छेले खेल्ने एउटा आकर्षण खेल
हाँसोहाँसोले भरिएको एउटा सुखद मेल
सम्हालीसम्हाली गोटी चाल्न नजानेमा
आँसुआँसुले बगेको अभिशापको भेल
उषाले आफ्नो वैवाहिक जीवनलाई ‘अक्षरहरूका शिविर’ मुक्तक संग्रहमा यसरी परिभाषित गरेकी छिन्। थकाली समुदायमा १० भाइको नामले परिचित परिवारको जेठो छोरा डीबी शेरचनसँग उषाको विवाह भएको थियो।
उषालाई उनका श्रीमानले लामो समयदेखि मन पराउने गर्थे। उषाले पनि उनलाई लामै समय झुलाइ दिएकी थिइन्। नाताले मामाकी छोरी पर्ने भएपनि थकाली समुदायमा यस्तो बिहाबारी हुने हुँदा उषालाई माग्न नै पुगेका थिए डीबी।
त्यतिबेला होटेलमा पार्टी गर्ने चलन नभए पनि उनीहरूको विवाहभोज शंकर होटेलमा भएको याद छ उनलाई।
उनी भन्छिन्, ‘तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापादेखि समाजका प्रायः गन्य-मान्य उपस्थित थिए हाम्रो बिहे भोजमा। विवाह गर्दा हामीबिच १५ वर्षको अन्तर थियो। २४ वर्षकै उमेरमा ममा १० भाइ मध्येकी जेठी बुहारीको पारिवारिक दायित्व थियो। तर मैले इमान्दारितापूर्वक निभाए र निभाइ रहेकी पनि छु।’
‘जीवन घाम छायाँ हो, सुख दुःख दुवै आउँछ। तर सुखमा लोग्नेको अति माया गर्ने र दुःखमा साथ नदिने व्यवहारले सम्बन्ध बिग्रन्छ। जीवन खुलस्त हुनुपर्छ। कुनै कुरा लुकाउन हुन्न,’ यसाे भन्ने उषा आफ्नो वैवाहिक जीवनसँग खुशी छिन्।
भूपी शेरचनलाई देख्दा
उषाका अनुसार भूपी शेरचन एकदमै सम्भ्रान्त परिवारका सदस्य थिए। उनी त्यो बेला नै चम्चाले खाना खाने खानदानमा जन्मेका थिए।
उनी भन्छिन्, ‘भूपीको समयमा पोखराको साहित्यको निकै उत्थान भएको थियो। त्यतिबेला भूपी हाम्रै घरको बाटो भएर हिंडिरहन्थे। उनी प्रायः मुखमा चुरोट च्यापिरहन्थे।’
यति मात्र होइन उषाको नजरमा भूपी राम्रो ड्रेसअप गर्ने व्यक्ति थिए। उनले भूपीलाई गीतकार चेतन कार्कीसँग मेला भर्न गएको पनि देख्ने गर्थिन्।
भूपीसँग खासै साहित्यिक सामिप्यता नभएको बताउने उषालाई भूपीलाई कुन नजरले हेर्नुहुन्छ भन्दा उनी भन्छिन्, ‘पहिलेका पुस्ताका कविहरूलाई अरूले जसरी हेर्छन् मैले पनि त्यसरी नै हेर्ने गर्छु। तर सानैमा भने म भूपी र उनको समूह देखेर खुब डराउने गर्थे।’
साहित्यिक यात्राको जोखिम
आफ्ना हजुरबुवाले बनाएको काठको पाटीमा रातो माटो छरेर जीवनमा पहिलो पटक 'कपुरी क', 'खरायो ख', आदि लेख्न सुरू गरेकी उषाको साहित्यिक यात्राको सुरूवातको सामाजिक र पारिवारिक मार्ग एकदमै कठिन थियो।
एकातिर घरपरिवारले देख्ने गरी साहित्यिक रचना पढ्ने सम्भावना थिएन भने अर्कातिर अहिलेको जस्तो बिजुली बत्ति पनि नभएको अवस्था थियाे।
टुकी अथवा पानसको मधुरो प्रकाशमा त्यो पनि पाठ्यपुस्तकभित्र लुकाएर अथवा स्कूलको खाली समय सदुपयोग गरेर चोरीचोरी, लुकीलुकी उपन्यासहरू पढ्नु र पढेपछि अपराधबोधले ग्रस्त हुनु उनको दैनिकी नै बनेको थियो।
यस्तैमा उनको लेखनी अघि बढ्न थाल्यो। गोरखापत्रमा कविता छापियो। साहित्यिक सर्कल बढ्न थाल्यो र उनी विस्तारै साहित्यिक मार्गमा लम्किन थालिन्। अहिले उनलाई पोखरा र मुस्ताङकै पहिलो चर्चित महिला राष्ट्रिय कविको रूपमा पनि लिइन्छ।
विवाह भएपछि र आमा बनिसकेपछि पनि आफ्नो लेखनको कर्मलाई नछाडेकी उषा भन्छिन्, ‘मेरो साहित्यिक मार्ग असहज छ भनेर मैले कहिल्यै हिम्मत हारिनँ र हिंड्न छाडिनँ। म आँफै आफ्ना लागि बाटो खन्दै अगाडि बढिरहें। जतिसुकै आँधी हुरी आए पनि कतै नरोकिइ निरन्तर हिंडिरहें।’
यसरी गृहस्थी र साहित्यिक यात्रालाई समानान्तर रूपमा अघि बढाउँदै लगेकी उषालाई उनका छोराछोरीले पनि आफ्नी आमा विशुद्ध गृहणी मात्र भएर नबसे हुन्थ्यो भन्ठान्ने गर्छन्। उनलाई आफ्ना छोराछोरीले आमाको साहित्यप्रतिको रूचि र जन्मजात गुणलाई कायम राख्न प्राेत्साहित गरेकोमा खुशी लाग्छ।
स्वास्नी मानिस भएर बाँच्नु पर्दा
सानैदेखि पारिवारिक हिसाबले पनि छोरी हुनुको बोध छुट्टै तवरले भोगेकी उषालाई स्वास्नी मानिस र पानीको नियति उस्तै लाग्ने गर्दछ।
उनी भन्छिन्, ‘नढाँटी भन्नुपर्दा श्रीमती चाहिने समाजले छोरीलाई भने भ्रुणमै हत्या गर्न पनि पछि पर्दैन। भविष्यमा आफ्नो छोराका लागि पनि श्रीमतीको खाँचो पर्नेछ भन्ने कुरा समेत भुसुक्कै बिर्सन्छ याे समाज।’
‘राती जतिखेर पनि निर्धक्क घर पस्न सक्छन् छोरा मान्छेहरू। समाजले पनि औंला ठड्याउँदैन उनीहरूलाई, तर छोरी मान्छे भने तोकिएको समयसीमाभित्र घर नआएमा सबैको आँखाले प्रश्नको ओइरो नै बर्साउँछ,’ उनी थप्छिन्।
‘आफ्नै शरीरमा पनि अरूको नियन्त्रण लिएर हिंडेका स्वास्नी मानिस जस्तो आकारमा ढाल्यो त्यही आकारमा ढालिनुपर्ने, जुन रूपमा बगायो त्यही रूपमा बग्नुपर्ने, जुन आकारमा जमायो त्यही आकारमा जम्नुपर्ने। के स्वास्नी मान्छेबिना विश्वमा लोग्ने मानिसहरूको मात्र संसार जिउँदो रहन सक्ला त?’
यस्ता विचार राख्ने उषाको लेखनमा पनि महिलाको क्रान्ति भेटिन्छ र तिनका विद्रोह भेटिन्छ। आफूले लेखेका अधिकांश कथाहरूका पात्रहरू वास्तविक हुने बताउँछिन् उनी।
साहित्यको लागि प्रेम कतिको आवश्यक छ भन्दा उनी भन्छिन्ः
प्रेममा निस्स्वार्थका अविरल धाराहरु बगिरहनु पर्छ
प्रेममा निश्चलताका अविराम खोलाहरु बगिरहनु पर्छ
प्रेममा सुन्दरताका अनुपम ताजहरु उठिरहनु पर्छ
प्रेममा समर्पणका अखण्ड ज्योतिहरु बलिरहनु पर्छ
प्रेम आकाश जस्तै विशाल हुन्छ
प्रेम क्षितिज जस्तै फैलिएको हुन्छ
प्रेम धर्ती जस्तै महान् हुन्छ।
प्रेममा किनबेचको सवालै हुँदैन
प्रेममा नाफा र घाटा पनि सोचिंदैन
प्रेममा मौकाको फाइदा कदापि उठाइँदैन।
सही अर्थमा प्रेम अमृत हुन सक्छ
गलत अर्थमा प्रेम विष पनि हुन सक्छ।
प्रेमलाई यसरी परिभाषित गर्ने उषालाई प्रेम हरेक पेशाको लागि उत्तिकै आवश्यक छ जस्तो लाग्छ।
उनी थप भन्छिन्, ‘यदि तपाईंको प्रेम अत्याधिक छ भने पनि त्यसको विछोडले तपाईंलाई दुःख दिन सक्छ। प्रेम नै भएन भने त झन् दुःख भइहाल्यो। तर सकेसम्म कसैमा आश्रित हुनु राम्रो होइन। आफैंले आफैंलाई प्रेम गर्नु भन्दा महत्वपूर्ण फेरि अरू केही छैन।’
महिला साहित्यकारहरू बढी आफ्नो दुःख, वेदना, आँसुहरू पोख्छन् भन्नेहरूलाई तपाईं के भन्नुहुन्छ भन्दा उषा भन्छिन, ‘कतिपय पुरूषले यस्तो भनेको सुनिन्छ। तर बच्चा जन्माउनेलाई पो थाहा हुन्छ प्रसव पीडा र खुशी। नजन्माउनेलाई के थाहा।’
आफ्नो घाउ आफैले नै कोट्याएर सहनुपर्यो
आफ्नो पीडा आफैभित्र लुकाएर बाँच्नुपर्यो
कहिल्यै नटुङ्गिने कथा भो
तिम्रो र मेरो पिरती, हो मेरो पिरती
अन्तिममा म उनको यस कविताको मिठो अंश सुन्दै बिदा हुन्छु। उनी मलाई बिदाइका हातहरू हल्लाइ रहन्छिन्। यसरी म उनलाई फेरि भेट्ने पर्खाइमा टाढिँदै जान्छु।
पुष २८, २०७९ बिहीबार १४:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।