आफ्नै पार्टीका नाममा दिल्ली सरकारको सूचना– ‘१० दिनमा १६३.६२ करोड जम्मा गर्नू’

आफ्नै पार्टीका नाममा दिल्ली सरकारको सूचना– ‘१० दिनमा १६३.६२ करोड जम्मा गर्नू’

एजेन्सी : आम आदमी पार्टीले सरकार चलाइरहेको दिल्ली सरकारले सत्ताधारी पार्टीलाई नै १० दिनभित्र १६३.६२ करोड रूपैयाँ जम्मा गर्न निर्देशन दिएको छ।

दिल्ली सरकारको सूचना तथा प्रचार निर्देशनालयले एक सूचना जारी गर्दै सरकारी विज्ञापनको नाममा दिइने राजनीतिक विज्ञापनका लागि आम आदमी पार्टीलाई १६३.६२ करोड रूपैयाँ राजश्व जम्मा गर्न निर्देशन दिएको हो।

सूचना र प्रचार निर्देशालयबाट यो सूचना जारी हुनुअघि दिल्लीका उप–राज्यपाल वीके सक्सेनाले मुख्य सचिवलाई आम आदमी पार्टीले सरकारी विज्ञापनको आडमा दिएको कथित राजनीतिक विज्ञापनहरूको लागि ९७ करोड रूपैयाँ उठाउन निर्देशन दिएका थिए।

उप–राज्यपालको निर्देशनबमोजिम सूचना तथा प्रचार निर्देशालयले ९६ करोडमा ब्याज रकमसमेत थपेर सूचना निकाली १० दिनभित्र तिर्न निर्देशन दिएको हो।

मन्त्रालयको सूचनापछि दिल्लीका उप–मुख्यमन्त्री मनिष सिसोदियाले भारतीय जनता पार्टीले सरकारी अधिकारीहरूमार्फत दिल्ली सरकारमाथि ‘असंवैधानिक’ नियन्त्रण राख्न चाहेको टिप्पणी गरेका छन्।

बिहीबार सञ्चारकर्मीमाझ सिसोदियाले भने, ‘दिल्लीमा कर्मचारीहरूमाथि असंवैधानिक कसरी नियन्त्रणको अवैध प्रयोगलाई हेर्नुहोस्– बीजेपीले दिल्ली सरकारको सूचना विभाग सचिव एलिस वाजमार्फत २०१७ देखि दिल्ली बाहिरका राज्यहरूमा दिइएका विज्ञापनहरूको खर्च मुख्यमन्त्री अरविन्द केजरीवालजीबाट असुल्न निर्देशन दिएछन्।’

उनले अगाडि थपे, ‘दिल्लीका अखबारहरूमा बीजेपीका सबै राज्यका मुख्यमन्त्रीहरूको विज्ञापन छापिएको छ। दिल्लीभर उनीहरूका मुख्यमन्त्रीहरूको फोटोसहितको सरकारी होर्डिङ्गहरू राखिएको छ। के यसको खर्च बिजेपीका मुख्यमन्त्रीहरू असुलिनेछ? यसकै लागि दिल्लीका अधिकारीहरूमाथि असंवैधानिक कब्जा गर्न चाहन्छ बिजेपी?’

पुष २८, २०७९ बिहीबार १४:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।