‘मोदीलाई मार्न तयार हुनुस्’ भन्ने कांग्रेस नेतालाई जमानत दिन अस्वीकार
एजेन्सी : मध्यप्रदेश उच्च अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर विवादास्पद टिप्पणी गर्ने कांग्रेस नेता तथा पूर्व मन्त्री राजा पटेरियाको जमानत याचिका खारेज गरेको छ।
गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीमाथि विवादास्पद टिप्पणी गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो।
अदालतका न्यायाधीश सञ्जय द्विवेदीले बुधबार आफ्नो आदेशमा जननेतासमेत रहेका पटेरियासँग देशका प्रधानमन्त्रीका लागि यस्तो भाषा प्रयोग गर्नुको सटिक कारण नभएको बताएका छन्।
राजा पटेरियालाई १३ डिसेम्बर २०२२ मा दमोहस्थित उनको घरबाट पक्राउ गरी हाल न्यायिक हिरासतमा राखिएको छ।
पन्ना जिल्लाको तल्लो अदालतले उनलाई जमानत दिन अस्वीकार गरेपछि उनी जमानतका लागि उच्च अदालत पुगेका थिए।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनले कांग्रेस कार्यकर्तालाई भनेका छन्, ‘मोदीलाई मार्न तयार हुनुहोस्... मार्नुको अर्थ उसलाई हराउनु हो... मोदीले चुनाव अन्त्य गर्नेछन्, मोदीले जनतालाई विभाजन गर्नेछन्। धर्म, जात र भाषा, दलित, आदिवासी र अल्पसंख्यकको भविष्य खतरामा छ, यदि संविधान बचाउन चाहनुहुन्छ भने मोदीलाई मार्न तयार हुनुहोस्, मार्नको अर्थ उहाँलाई हराउनु हो।’
पुष २८, २०७९ बिहीबार १२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।