लुम्बिनीमा भागबण्डा मिलेन, मन्त्रीहरूकाे शपथकाे सम्भावना टर्दै

लुम्बिनीमा भागबण्डा मिलेन, मन्त्रीहरूकाे शपथकाे सम्भावना टर्दै

बुटवल : लुम्बिनी प्रदेशमा बिहीबार (आज) मुख्यमन्त्री लगायत अन्य मन्त्रीको पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने भनिए पनि मन्त्रीमण्डलको भागवण्डा नमिलेपछि मुख्यमन्त्री लिला गिरीको मात्र सपथ हुनसक्ने अवस्था देखिएको छ।

मुख्यमन्त्री एमालेले पाएपछि अर्थ र शहरी विकास मन्त्रालयमा माओवादीले दाबी गरेकोमा एमालेले दिन आनाकानी गरेपछि माओवादीबाट मन्त्रीमण्डलमा प्रस्ताव गरिएका नेताहरूले सपथ बहिस्कार गर्ने तयारी गरेको माओवादी स्रोतले दाबी गरेको छ।

माओवादीको बटम लाइनमा अर्थ र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय रहेकोमा एमालेले ती मन्त्रालयहरू दिन आनाकानी गरेपछि सपथमा सहभागी नहुने तयारी गरिएको स्रोतको दाबी छ।

प्रदेश प्रमुखको कार्यालयले बुटवलमा मुख्यमन्त्रीको नियुक्ति गरेर देउखुरीमा सपथ गराउने तयारी गरे पनि माओवादी नेताहरू दाबी गरिएको मन्त्रालय नपाए सपथमा नजाने अडानमा रहेका छन्।

लुम्बिनी प्रदेशसभा परिसर राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजे पद तथा गोपनीयताको सपथ ग्रहण समारोह राखिएको छ। मुख्यमन्त्रीले आजै कम्तीमा ३ सदस्यीय मन्त्रीमण्डल गठन गरि सपथ लिने तयारी गरेका छन्।

एमाले, माओवादीको सहभागितामा सानो आकारमा मन्त्रिपरिषद् बनाउने तयारी गरेको नवनियुक्त मुख्यमन्त्री लिला गिरीले बताए। बाँकी दलहरूको लागि भने सत्ता गठबन्धनभित्र छलफल चलिरहेको गिरिले बताए।

बुधबार हुने सपथग्रहणमा एमालेका संसदीय दलका नेता एवं नवनियुक्त मुख्यमन्त्री लिला गिरीसहित उपनेता चेतनारायण आचार्य र माओवादीबाट दलकानेता जोखबहादुर महरालाई सपथ गराउने तयारी भएको थियो।

एमालेभित्र पनि मन्त्रालयको कुरा नमिलेपछि सुरूमा मुख्यमन्त्रीसहित २ जना विनाविभागीय मन्त्री नियुक्त गरि ३ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी भएको एमाले स्रोतको दाबी छ।

एमालेभित्र पनि सहरी विकास मन्त्रालयमा चेतनारायण आचार्य र भुमिश्वर ढकालको दाबी रहेपछि विनाविभागिय मन्त्री बनाउने तयारी भएको स्रोतले बतायो।

राजधानी व्यवस्थापनमा सहरी विकास मन्त्रालयमा बढि बजेट रहने भएकाले माओवादी र एमालेको आँखा सो मन्त्रालयमा गएको हो। माओवादीले शहरीमा ईन्द्रजीत थारुलाई पठाउने तयारी गरेको छ।

सत्तारुढ दल माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले पनि मुख्यमन्त्रीको दाबी गरेका थिए। दाबी अनुसारको पहिलो नेतृत्व नपाएपछि महरा लुम्बिनी सरकारलाई समर्थन नगर्ने जनाएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड बीच विशेष सहमति भएको बताइएको छ।

सहमतिअनुसार पहिले अढाई वर्ष एमाले र दोस्रो अढाई वर्ष माओवादीले आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमति भएको भनिए पनि मुख्यमन्त्री गिरीले सहमति भएको कुरालाई अस्वीकार गरिसकेका छन्।

मुख्यमन्त्री र सभामुखमा केन्द्रीय निर्णयलाई समर्थन जनाए पनि मुख्यमन्त्रीमा एमालेले पहिलो नेतृत्व लिएपछि माओवादीले अर्थ मन्त्रालय र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय पाउनुपर्ने दाबी गरेका छन्।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले भने सपथमा माओवादीको सहभागी हुने बताए। अध्यक्ष बरालले अर्थ र सहरीमा दाबी भएको कुरा सत्य भएको बताउँदै आज विनाविभागीय मन्त्रीका रूपमा एकजना नेताले सपथ लिने जानकारी दिए।

‘कस्लाई पठाउने भन्ने विषयमा छलफल जारी छ, तर एकजना माओवादीबाट सपथ लिन जानुहुन्छ’, उनले भने।

माओवादीका निवर्तमान मन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रजित थारुले शक्ति सन्तुलन र सम्मानजनक भागवण्डा नभए माओवादीले सरकार गठनमा समर्थन गरे पनि सपथ ग्रहणमा सहभागी नहुने बताए।

उनले मुख्यमन्त्री र सभामुखमा केन्द्रको निर्णय अनुसार भएपछि मन्त्रालय बाँडफाँटमा एमालेले समझदारी गर्नुपर्ने बताउँदै पेल्न खोजिए सपथमा नजाने जनाए।

‘शक्ति सन्तुलनका आधारमा सम्मानजनक स्थान नदिएर पेल्न खोजिए माओवादी सपथ खान जान सक्दैन’, उनले भने।

अर्थ मन्त्रालयमा जोखबहादुर महरा र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालयमा ईन्द्रजीत थारु र बाँकी एक मन्त्रालयमा बाँकेकी कृष्णा केसी नमुनाले दाबी गरेका छन्।

यी २ मन्त्रालय र अन्य १ गरी तीन मन्त्रालय टुङ्गो नलाग्दासम्म माओवादीले सपथ ग्रहण नगर्ने गरी वार्ता गर्न माओवादी नेताहरूलाई सांसदहरूले दवाव दिएको स्रोतको दाबी छ।

पुष २८, २०७९ बिहीबार ११:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।