‘प्रचण्डपछि ओली होइन, देउवा नै बन्नेछन् प्रधानमन्त्री’

‘प्रचण्डपछि ओली होइन, देउवा नै बन्नेछन् प्रधानमन्त्री’

काठमाडौं : नेपाली राजनीतिमा पुस दोस्रो सातायता ‘विचित्र’का दृश्य देखिए। पुस १० गते प्रधानमन्त्री पदसहित सत्तामा रहेको नेपाली कांग्रेस १६ दिनको लागि भए पनि प्रतिपक्षी दल बन्यो।

पहिलो कार्यकालको प्रधानमन्त्री माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मान्न नसक्दा उसले सत्ताबाट आफ्नो हात धुनुपर्यो। यद्यपि पुस २६ गतेसम्म आइपुग्दा कांग्रेस सत्तापक्ष भइसकेको छ।

पुस २६ गते नवनियुक्त प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएसँगै उ पनि सत्ता साझेदार दलमा गनियो। तर कांग्रेसका नेताहरू आफ्नाे दल प्रतिपक्षी दल नै भएकाे रटान लगाइरहेका छन्। विश्वासकाे मत दिएर विपक्षी दल भनिरहँदा कांग्रेस नैतिकरूपमा च्यूत भइसकेकाे छ। यद्यपि यसमा कानूनी बाधा भने छैन।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढि दलको सहभागितामा सरकार गठनका लागि दिएको समय सीमाभित्र दाहालले प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गरे।

दाबी पेश गर्दा उनको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसद्सहित १६९ जनाको समर्थन थियो।

तर, पछिल्लो दुई सातामा राजनीतिक कोर्स बदलियो। उनले संसद्मा उपस्थित २७० सांसद्मध्ये २६८ सांसद्को विश्वासको मत पाए। नेपाली कांग्रेससहित १० सिट रहेको एकीकृत समाजवादीले समेत उनलाई साथ दियो।

विपक्षमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालमात्र उभिए। कांग्रेसले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सोही दिन चित्रबहादुर केसीले भनेका थिए– ‘नेपालमा आज विचित्र दृश्य देखियो।’

अब फर्कौं हाम्रो मुख्य विषयवस्तुतर्फ, राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई नियुक्त गरे। एमाले अध्यक्ष ओलीसँग उनले आधा–आधा कार्यकाल सत्ता साझेदार गर्नेछन्। यानिकी साढे २ वर्ष आफू अनि त्यति नै समय ओली।

तर साढे दुई वर्षपछि ओली नभएर प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त हुने संविधाविद् भिमार्जुन आचार्य बताउँछन्। संविधानको धारा ७६(२) को सरकारले काम नगरेपछि स्वतः संविधानको धारा ७६(३) चालु हुने उनको तर्क छ।

अब के छ त धारा ७६(२) र (३)मा? त्यसअघि यस धाराको विषयमा जान्नु उपयुक्त हुन्छ। संविधानको धारा ७६ मा सरकार गठनसम्बन्धी व्यवस्था उल्लेख छ। जसको उपधारा १ मा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने उल्लेख छ।

गत मंसिर ४ गते भएको निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त नगरेकाले यो व्यवस्था प्रयोगमा आउँदैन र स्वतः उपधारा २ चालु हुन्छ।

उपधारा २ मा भनिएको छ, ‘उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ।’

संविधानको यहि धारा प्रयोग गरेर राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेकी थिइन्। सोहीअनुसार विभिन्न सात दल र तीन स्वतन्त्र सांसद्को हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाहाल नियुक्त भए।

अब प्रधानमन्त्रीले राजीनामा दिएको अवस्थामा उपधारा ३ स्वतः चालु हुने संविधानविद् आचार्य बताउँछन्। उनी भन्छन्, ‘संविधानको धारा ७६(२)मा समस्या आउनेबित्तिकै अगाडि बढ्ने भनेको ७६(३) हो नि त! अहिलेको सरकार नबनेबित्तिकै बन्ने भनेको त ७६(३) अुनसारकै सरकार हो।’

संविधानको धारा ७६(३) मा प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख गरिएको छ। 

यसअनुसार धारा ७६(२) अनुसारको प्रधानमन्त्री पदबाट हट्नेबित्तिकै धारा ७६(३) लागू हुने साेहीअनुसार कांग्रेस संसदीय दलको नेता प्रधानमन्त्रीमा नियुक्त हुने आचार्यले बताए।

‘सातवटा पार्टीबाट सरकार बनेको छ। एउटा पार्टीले मात्र समर्थन फिर्ता लिनेबित्तिकै प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ,’ उनले अगाडि भने, ‘प्रधानमन्त्री दाहालले विश्वासको मत प्राप्त गर्न नसकेमा स्वभाविक रूपमा धारा ७६(३) अनुसार राष्ट्रपतिले ठूलो दलको हैसियतले पुनः देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने हुन्छ।’

नेपाली कांग्रेसले साढे दुई वर्ष धैर्य गर्न नसकेकोमा आफूलाई अचम्म लागेको उनले बताए।

पुष २८, २०७९ बिहीबार ११:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।