केही घण्टाकाे अवराेधपछि अमेरिकाको आन्तरिक उडान पुनः सुरू

केही घण्टाकाे अवराेधपछि अमेरिकाको आन्तरिक उडान पुनः सुरू

एजेन्सी : अमेरिकाको आन्तरिक उडान केही घण्टापछि पुनः सुरू भएको छ। संघीय उड्डयन प्राधिकरणले उडान पुनः सुरू भएको जानकारी दिएको हो।

उडान नियन्त्रण प्रणालीमा गडबडी भएपछि बुधबार अमेरिकाका सबै आन्तरिक उडान ठप्प भएका थिए। त्यो प्रणाली विमान चालकलाई सुरक्षा प्रदान गर्ने विषयसँग सम्बन्धित थियो।

अमेरिकाको संघीय उड्डयन प्राधिकरणले भनेको छ, ‘अहिले विस्तारै-विस्तारै सेवा सुरू भइसकेको छ। उडानमा लगाइएको रोक हटिसकेको छ। फ्लाइट क्रूलाई सुरक्षाबारे सूचना दिने नोटिस टु एयर मिसन प्रणालीमा राति खराबी आएको थियो। समस्याको कारण पत्ता लगाउन जाँच चलिरहेको छ।’

‘नोटिस टु एयर मिसन’ त्यो प्रणाली हो, जसले कुनै रुटमा कुनै प्रकारको खतराको संकेत देखिए पाइलटलाई पूर्वजानकारी गराउँछ।

त्यसमा समस्या आउँदा सुरुमा साइबर हमला भएको हो कि भन्ने आशंका गरिएको थियो। तर ह्वाइट हाउसले त्यो आशंकालाई खारेज गरेको छ।

राष्ट्रपति जो बाइडनले पत्रकारहरूसँग कुरा गर्दै समस्या आउनुको कारण पत्ता लागिनसकेको बताएका छन्।

पुष २८, २०७९ बिहीबार ०७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।