माघदेखि निक्षेपको ब्याजदर घट्ने, ऋणको वैशाख १ गतेदेखि

माघदेखि निक्षेपको ब्याजदर घट्ने, ऋणको वैशाख १ गतेदेखि

काठमाडौं : माघदेखि वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ।

वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।

बैंकिङ प्रणालीमा तरलता थपिएकाले ब्याजदर घटाउने अवस्था आएको निष्कर्षमा बैंकर पुगेका हुन्। एसोसिएसनका अनुसार राष्ट्र बैंकको निर्देशिकाअनुसार नै ब्याजदर घटाउने निर्णय गरिएको हो । 

राष्ट्र बैंकको निर्देशिकाअनुसार बैङ्क तथा वित्तीय संस्थाले १० प्रतिशतसम्म ब्याजदर घटबढ गर्न पाउँछन्। यही सीमामा रहेर माघदेखि ब्याजदर घटाउन लागेको एसोसिएसनले जनाएको छ।

निक्षेपको ब्याज घटेसँगै बैंकहरूले आधार दर परिवर्तन हुने भएकाले आधार दरका आधारमा कर्जाको पनि ब्याजदर घट्ने भएको छ।

एसोसिएसनले निक्षेपको ब्याजदर १० प्रतिशतले घटाउने भद्र सहमति गरेसँगै बैंकिङ क्षेत्रको पाँच हजार ३११ अर्बको कुल निक्षेप मा एक हजार ३७१ अर्ब (२५.८१ प्रतिशत) बचत निक्षेपको ब्याजदर १.१ प्रतिशतले तत्कालै घट्नेछ।

यसका कारण १२५ करोड रूपैयाँ मासिक ब्याज खर्च घट्नेछ। कुल निक्षेपमा ३३२ अर्ब (६.२६ प्रतिशत) मा ०.५५ प्रतिशतले  ब्याजदर गर्दा  तत्कालै १५ करोड मासिक ब्याज खर्च घट्नेछ। कुल १४० करोड ब्याज खर्च मासिक रूपमा तत्काल घट्ने भएको छ।

मुद्दती निक्षेपको ब्याजदर बिस्तारै घट्दै जाँदा यसले गर्दा बैंकिङको आधार दर घटी औसत कर्जाको ब्याजदर १२.६३ प्रतिशतबाट घट्ने भएको छ।

१ माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय भएपनि कर्जाको ब्याजदर घट्न भने १ वैशाख २०८० कुनुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदरलाई आधार दरसँग आबद्धता गराएको छ।

त्रैमासिक रुपमा आधार दरमा भएको औसत घटबढको आधारमा सोही अनुपातमा कर्जाको ब्याजदर पनि घट्छ । माघ, फागुन र चैतमा निक्षेपको ब्याजदरको आधार दर कति घट्छ भन्ने हेरेर वैशाखमा कर्जाको ब्याजदर पनि घट्ने छ ।

पुष २८, २०७९ बिहीबार ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।