सातै प्रदेशमा सरकार बन्दा महिला छैनन् नेतृत्वमा, प्रदेशै नमान्ने राप्रपाले मन्त्री लियो
काठमाडौँ : बुधवार चार प्रदेशको मुख्यमन्त्री नियुक्तिसँगै सातै प्रदेशले प्रदेश प्रमुख पाएको छ। केन्द्रमा बनेको गठबन्धनकै स्वरूपमा प्रदेशहरूमा सरकार बनेको हो। सातै प्रदेशले मुख्यमन्त्री पाउँदा असमावेशी देखिएको छ। सातै प्रदेशका मुख्यमन्त्री लैङगिक अनी जातिय आधारमा समावेशी बनेन।
बुधवार मधेस प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नयाँ मुख्यमन्त्रीले शपथ खाए। प्रदेशमा केन्द्रीय सरकारको संरचना भन्दा अलग संरचना समेत देखिन्छ। केन्द्रमा विश्वासको मत मात्र दिएको एकिकृत समाजवादीले बागमती र गण्डकीमा सरकार बनाउन समर्थनै गरेको छ।
प्रदेश संरचना खारेजै गर्नुपर्ने पक्षमा रहेको राप्रपा समेत प्रदेश सरकारमा सहभागी भएर मन्त्री बनेका छन्।
प्रदेश १, बागमती र गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भइसकेका छन्। प्रदेश १ मा एमालेका हिक्मत कार्की, बागमतीमा माओवादी केन्द्रका सालिकराम जम्कट्टेल र गण्डकीमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री भए।
मधेस प्रदेशमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव, लुम्बिनीमा प्रदेशमा एमालेका लीला गिरी, कर्णालीमा माओवादीका राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भए।
प्रदेश १ मा कार्की
प्रदेश १ का कार्कीलाई एमाले–माओवादीसहित ४ दलको समर्थनमा छ। एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थन बुझाएर उनी मुख्यमन्त्री भए।
कार्कीसँगै एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाका निर्मला लिम्बु मन्त्री बनेका छन्। मुख्यमन्त्रीका लागि प्रदेश १ मा न्युनमत ४७ सिटको आवश्यकता पर्छ। प्रदेश १ सभामा ९३ सांसद छन्।
कार्की प्रदेश १ को पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन्। मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा उनी झापा- ५ (१) बाट निर्वाचित भएका थिए।
मधेस प्रदेश: अस्वीकृत जसपालाई सत्ता
जसपाबाट सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भए। एमाले (२३), जनता समाजवादी पार्टी (१६), जनमत पार्टी (१३), माओवादी केन्द्र (७), राष्ट्रिय प्रजातन्त्र पार्टी (१), नागरिक उन्मुक्ति पार्टी (१) सँगै स्वतन्त्र सांसदहरू सुरिता साह र अनुरुध सिंहको समर्थनमा उनी मुख्यमन्त्री भए।
१०७ सदस्यीय मधेस प्रदेशमा मुख्यमन्त्रीमा दाबी गर्नका लागि न्यूनतम ५४ सांसद आवश्यक पर्छ। यादवले दाबी पेस गर्दा ६३ सांसदको समर्थन पाएका छन्।
मङ्सिर ४ को प्रदेश सभा निर्वाचनमा यादव बारा- १ (ख) बाट निर्वाचित भएका थिए। उनी २०७४ को प्रदेश सभा निर्वाचनमा तत्कालीन राजपाबाट निर्वाचित भएर सभामुख भएका थिए।
बागमती प्रदेशमा जम्कट्टेललाई ताज
एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनसहित माओवादी केन्द्रका सालिकराम जम्कट्टेल बागमती प्रदेशको मुख्यमन्त्री भए।
उनलाई ७० सांसदको समर्थन देखिन्छ। १ सय १० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीमा दाबी गर्न ५६ सांसदको समर्थन भए पुग्छ। जम्कट्टेल सोही प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री समेत हुन्।
मङ्सिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा जम्कट्टेल धादिङ- १ (ख) बाट प्रदेश सभामा सदस्यमा निर्वाचित भएका थिए।
गण्डकी प्रदेशमा अधिकारी
एमालेका खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री चयन भइसकेका छन्। एमाले, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्र (दीपक मनाङे)को समर्थनसहित उनी मुख्यमन्त्री बनेका छन्।
३३ सांसदको समर्थन देखिन्छ। ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्री दाबी गर्न ३१ सांसदको समर्थन भए पुग्छ। खगराज सङ्घीय गृहमन्त्री भइसकेका नेता हुन्। मुख्यमन्त्रीको आकाङ्क्षी बन्दै उनी प्रदेशमा आएका थिए।
उनी कास्की- १ (क) बाट निर्वाचित भए। उनीसँगै एमालेबाट सीता सुन्दास, माओवादी केन्द्रबाट हरि चुमान र राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री भइसकेका छन्।
लुम्बिनी प्रदेशमा गिरी
लुम्बिनी प्रदेशमा लीला गिरी मुख्यमन्त्री बने। उनी एमालेबाट निर्वाचित भएका थिए।
गिरीलाई एमालेसहित माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोसपा र स्वतन्त्र सांसद्हरु सुरुल पुन र खड्ग बस्नेतसहित ५८ सांसदको समर्थन गरेका छन्।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्रीमा दाबी गर्न ४४ सांसदको समर्थन भए पुग्छ।
मङ्सिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनमा गिरी रुपन्देही- २(१) बाट निर्वाचित भएका थिए। उनी शङ्कर पोखरेल मुख्यमन्त्री भएका बेलामा लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका थिए।
कर्णाली प्रदेशमा शर्मा
कर्णाली प्रदेशमा राजकुमार शर्मा मुख्यमन्त्री भए। उनी माओवादी केन्द्रका सांसद हुन्।
शर्मालाई माओवादी केन्द्रसहित एमाले, राप्रपा र एकीकृत समाजवादीसहित २५ सांसदको समर्थन छ। ४० सदस्यीय कर्णाली प्रदेश सभामा मुख्यमन्त्रीमा दाबी गर्न २१ सांसदको समर्थन भए पुग्छ। शर्मा मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा शर्मा रुकुम पश्चिम- १ (२) बाट निर्वाचित भएका थिए।
सुदूरपश्चिम प्रदेशमा रावल
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भए। एमालेसहित माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ सांसदले उनलाई समर्थन गरेका छन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार बनाउन २७ सांसदको समर्थन भए पुग्छ। उनी प्रदेश सभाका समानुपातिक सांसद हुन्।
पुष २७, २०७९ बुधबार २३:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।