ब्याच नम्बर ६९ : सन्की बेरोजगार समूहको हातमा पेस्तोल पर्दा...
एक्साइड ब्याट्रीमा भएको गोली काण्ड अनि अञ्जनीकुमार चाचानको हत्या घटनाले कामको प्रेसर बढाइरहेको थियो। काठमाडौँमा लगातार हत्या र लुटपाटका घटना हुँदा पनि समूहसम्म पुग्न सफल हुन सकिएन।
जुन समूह यी घटनामा संलग्न छन् उनीहरू डरलाग्दा देखिए। उद्देश्य लुट्ने हो। तर गोली हानिहाल्ने। कसैलाई छातीमै गोली हान्ने। एक जनाको त मुखभित्र पेस्तोल राखेर गोली हानेका थिए।
त्यसैले उनीहरूलाई पक्राउ गर्न जति ढिला भयो थप घटनाहरू जोखिम उत्तिकै थियो। तर केही क्लु त आउनु पर्यो नि पक्राउ गर्न। आँखा चिम्लेर ध्यान गरेर त पक्कै पक्राउ पर्दैनन्।
प्रहरी टोलीले काम नगरेको पनि हैन। महाशाखामा सोमेन्द्रसिंह राठौर, गजेन्द्र रावलहरू टिम नै बनाएर खटिएका थिए।
काठमाडौँ परिसरमा पनि कुमोद ढुङ्गेल टिम नै बनाएर खटिएका थिए। तर न महाशाखाको टिम सफल भयो न त परिसरको टिम नै।
काठमाडौँमा भएका लुटपाटका घटनालाई १३ प्यारामिटरमा राखेर विश्लेषण गर्दा भिन्न भिन्न स्थान भए पी १० वटा घटना एकै समूहले गराएको देखियो। अनि घटनास्थलको म्यापिङ गर्दा उनीहरू हनुमानढोका क्षेत्र वरपर बस्ने वा परिचित हुन् भन्ने बाहेक थप उपलब्धि आएन।
उनीहरूबारे प्रमाण भनेको अन्जनीकुमार चाचानको हत्या हुँदाको क्लोज सर्किट टेलिभिजनको फुटेज मात्रै थियो। त्यसको पनि झुर गुणस्तर। एक व्यक्ति चाचानको कार्यालयभित्र छिरेर केही छिन्न खोजेको अनि गोली हानेको दृश्य थियो सिसिटिभीमा।
बाहिर एक व्यक्ति हातमा हेलमेट लिएर गफ गरेर बसेको थियो। तर उनीहरूको अनुहार पहिल्याउन सकिने अवस्था थिएन सिसिटिभीबाट। सिसिटिभी राख्ने मात्र भनेर हुन्न। त्यसको गुणस्तर पनि तोक्नुपर्छ भनेको यही कारण हो। यदि त्यो सिसिटिभी उच्च गुणस्तरको भएको भए क्रूर लुटेरा समूहसम्म पुग्न यति कठिन हुने थिएन। अब उभिएको व्यक्तिको मात्र आधारमा कसरी पत्ता लगाउने?
परिसरको तत्कालीन प्रहरी निरीक्षक कुमोद ढुङ्गेलको टोलीले यही घटनाबारे जानकारी भएको भन्दै एक जना माइक्रो बसका चालकलाई नियन्त्रणमा लिएको थाहा भयो।
नाम बिर्सिए मैले। थर महर्जन थियो। उसलाई हिरासतमा राखेर निकै दिन अनुसन्धान गर्ला पनि केही आएन समूहबारे। खेर गयो प्रयास।
महाशाखा अनि काठमाडौँ परिसरबिच समन्वय राम्रो थियो। तर समूहले अलग-अलग काम गरेका थिए। अब यसरी अलग- अलग अनुसन्धान गर्नुभन्दा संयुक्त अनुसन्धान टिम बनाउनु राम्रो भन्ने भयो। महाशाखा र परिसरको टिम मिलाएर एकै अनुसन्धान टिम बन्यो।
अनेक खालका सूचनाहरू आइरहेका थिए। तर कुनै सूचनाले पनि लुटेरा समूहसम्म पुर्याउन भने सकेको थिएन। प्रमाण उही सिसिटिभीको धमिलो फुटेज।
त्यो सिसिटिभीमा हातमा हेलमेट लिएर उभिएको व्यक्ति चिन्ने महिला छ भन्ने सूचना आयो। उभिएको व्यक्तिको अनुहार देखिएको थिएन। अब कसरी चिन्छन् भनेर पत्याउने। तर कुनै बेला नपत्याउने सूचनाले असम्भव ठानेको अपराधको अनुसन्धान सफल बनाएका छन्।
हुन पनि सक्छ। नभए फेरि प्रयास गरौँला भनेर ती युवती खोज्न थाल्यौँ। उनी सहजै भेटिइन् पनि। उनलाई प्रहरी कार्यालय ल्याएर सिसिटिभी फुटेज देखाएपछि उनले भनिन्' यो त मेरो ब्वाइफ्रेण्ड नीरज हो।'
हामी छक्क पर्यौ। अब पछाडिबाट हेरेर कसरी चिन्न सकिन्छ कसैलाई। तर उनी कन्फिडेन्ट थिइन्। नाम नीरज केसी अनि बस्ने सामाखुसीतिर भनिन्।
कसरी चिनेको भन्दा उनले' हाइट अनि ज्यान चिनिहाल्छु नि। अनि उसले यसरी नै हेलमेट बोक्छ' भनिन्।
नीरज विवाहित थियो। उसको श्रीमती भिमसेनगोलामा बस्ने पनि उनै युवतीले जानकारी दिइन्। उनले भने अनुसार भिमसेनगोला पुग्दा एक महिला फेला परिन्। उनी नीरजको श्रीमती रहिछिन्। उनलाई सिसिटिभीको फुटेज देखाउँदा उनले पनि त्यो उभिएको मेरो श्रीमान् हो भनिन्। उनले उभिने शैली र शरीरको आकारका आधारमा चिनेकी रहिछिन्।
अब २ जनाले नीरजै हो भने पनि कसरी नपत्याउनु। उसले नै घटनामा गोली हान्ने गरेको भन्ने पनि आयो। प्रेमीका अनि श्रीमतीको अपराधमा कुनै संलग्नता थिएन। त्यसैले उनीहरूलाई बोलाएर सोधपुछ गरेर छाड्यौँ।
अब नीरजलाई खोज्नपर्यो भनेर खोजी सुरु गर्दा उ भेटिएन। भनेपछि पक्का पनि अपराधमा संलग्न उही हो भन्ने त भयो। तर पक्राउ नगरी अनुसन्धान सफल हुनेवाला थिएन।
यो समूहमा को-को हुन सक्छन् भन्ने खोजी जारी थियो। परिसर अनि महाशाखाको टिमले संयुक्त रूपमै काम गरिरहेका थिए।
एक दिन अशोक गोले भन्नेको नाम आयो। टिमले गोलेलाई खोज्न थाल्यो। फेला परिहाल्यो। गोलेको पक्राउपछि प्रहरीले शङ्का गरेको नीरज घटनामा संलग्न व्यक्ति हुन् भन्ने पुष्टि भयो नै गोले पनि संलग्न देखिए।
तेस्रो व्यक्तिको नाम पनि खुल्यो काठमाडौँ सङ्कटाका सुनिल महर्जन अनि राजु डङ्गोल। उनीहरूले भारतबाट २ वटा पेस्तोल किनेर नेपाल ल्याएको र त्यसलाई पैसा लुट्न प्रयोग गरेको खुल्यो।
यी चार जना मिलेर काठमाडौँमा आतङ्क मच्चाएको प्रमाणहरू त फेला परे तर सुनिल र नीरज फेला परेनन्।
अलग-अलग टिम बनाएर खोज्दा पनि भेटिएनन् उनीहरू। बुझ्दै जाँदा उनीहरू भैरहवाहुँदै भारत गइसकेको देखियो। उनीहरूलाई नेपाल ल्याउन सक्दो प्रयास गरे पनि सफल भइन्।
त्यही बेला मेरो सरुवा भइहाल्यो। म हेडक्वाटरमा आएँ। यो घटनाको बेलामा म महाशाखा प्रमुख र तल परिसरका पुष्कर कार्की प्रमुख थियौँ। पछि कार्की महाशाखा प्रमुख बनेर गए। उनले सुनिल र नीरजलाई पाँच वर्षपछि पक्राउ गरेर नेपाल ल्याए।
सन्की बेरोजगार समूहको हातमा पेस्तोल पर्दा २ जना निर्दोषको ज्यान गयो। काठमाडौँमा आतङ्क मच्चियो। धन्न समूह नै कानुनी कारबाहीको दायरामा आयो। अनि ढुक्क भयो।
(प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरी डिआइजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ।)
ब्याचका पुराना अंक
पुष २७, २०७९ बुधबार २१:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।