याे वर्ष आर्थिक मन्दी लम्बिने विश्व बैंकको संकेत, रुस–युक्रेन युद्ध र कोभिडको प्रभाव मुख्य कारण
काठमाडाैंः सन् २०२३ मा विश्वका अधिकांश देशमा आर्थिक मन्दी लम्बिने विश्व बैंककाे नयाँ प्रक्षेपणले देखाएकाे छ। विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो।
ग्लोबल इकोनोमिक प्रस्पेक्ट प्रतिवेदनअनुसार रुस–युक्रेन युद्ध र कोभिड महामारीको प्रभावलाई न्यून आर्थिक वृद्धिदरको मुख्य कारणका रूपमा हेरिएको छ।
त्यस्तै, उच्च मूल्यवृद्धि, उच्च ब्याजदर, न्यून लगानी, आपूर्ति शृङ्खलामा देखिएको अवरोध लगायतका कारणले पनि आर्थिक वृद्धिदरमा गिरावट आएको विश्व बैंकले जनाएको छ।
नयाँ प्रक्षेपणअनुसार सन् २०२३ मा विश्वकाे आर्थिक वृद्धिदर १.७ प्रतिशतले खुम्चने छ। जुन अघिल्लो अनुमानभन्दा १.३ प्रतिशतले न्यून हो। विश्व बैंकले ६ महिनाअघि, जुन महिनामा विश्व आर्थिक वृद्धिदर ३ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको थियो।
विश्व बैंकको प्रक्षेपणअनुसार नेपालको आर्थिक वृद्धिदर भने आर्थिक वर्ष सन् २०२२/०२३ मा ५.१ र २०२३/०२४ मा ४.९ प्रतिशत रहने छ।
विश्व बैंकको अघिल्लो प्रक्षेपणको तुलनामा नयाँ प्रक्षेपणले नेपालको मात्र नभई विश्वभर कै आर्थिक वृद्धिदरमा संकुचन आउने देखाएको हाे।
पुष २७, २०७९ बुधबार २०:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।