रामग्रामकाे संरक्षण र विकास गर्न लुम्बिनी विकास कोषकाे निर्देशन
बुटवलः लुम्बिनी विकास कोषका पदाधिकारी सहितको टोलीले बुधबार बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपा र बुद्धस्थल पण्डितपुरको अवलोकन गरेको छ।
कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेश कुमार त्रिपाठी, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य तथा परिषद सदस्य सहितको टोलीले उक्त क्षेत्रको अवलोकन गरेको हो।
गौतमबुद्धको अस्तु धातु रहेको रामग्राम बुद्धमार्गीहरुका लागि पवित्र स्थल रहेकाले यहाँको विकास गर्ने गरि स्थलगत अवलोकन गरिएको उपाध्यक्ष भिक्षु मैत्तयले बताए। उनले बुद्ध भगवानको जीवनसँग जोडिएको महत्वपूर्ण स्थल रामग्राम भएकाले तत्काल र दीर्घकालिन रुपमा रामग्रामको विकास गरिने बताए।
उपाध्यक्ष मैत्तयले रामग्राममा तत्काल कोषको कार्यालय सञ्चालन गर्न, जग्गाको संरक्षणका लागि तारबार, पर्यटकका लागि खानेपानी, शौचालय र सूचना बोर्डहरु राख्न निर्देशन दिए। उनले लुम्बिनी पछिको महत्वपूर्ण बुद्धस्थलका रुपमा रामग्रामको विकास गर्नुपर्ने बताए।
नवलपरासीको रामग्राम नगरपालिका वडा नं ७ झरही नदीको किनारमा रहेको रामग्राम भगवान् बुद्धको अस्तुधातु राखी निर्माण गरिएको आठ वटा स्तुपामध्ये अहिलेसम्म बाँकी रहेको एक मात्र रामग्राम स्तुपा हो।
पुष २७, २०७९ बुधबार १९:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।