मुख्यमन्त्री लीला गिरीकै आग्रहमा राप्तीमा हुँदैछ लुम्बिनी प्रदेशकाे शपथ ग्रहण कार्यक्रम
बुटवलः लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुको शपथ ग्रहण भोली (बिहीबार) हुँदैछ। प्रदेश प्रमुखको कार्यालय बुटवलमा ५८ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दावी गरेका गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त गरेको व्यहोराको पत्र पनि बुटवलमै दिएका थिए।
तर मुख्यमन्त्री सहित केही मन्त्रीहरुको शपथ ग्रहण भने दाङ देउखुरीमा हुने भएको छ। प्रदेश प्रमुखको कार्यालयमा शपथ खाने परम्परा रहे पनि लुम्बिनी प्रदेशमा भने प्रदेश प्रमुखको कार्यालय बाहिर नै शपथको कार्यक्रम हुने भएको छ।
बुटवलमा रहेको प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा नभई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा शपथ ग्रहरणको कार्यक्रम तय गरिएको छ। त्यहाँ प्रदेश प्रमुखको सम्पर्क कार्यालय रहेको बताइएको छ।
अघिल्लो सरकारले अस्थायी मुकाम बुटवलबाट प्रदेश राजधानी सारेर राप्ती उपत्यकामा लगेको र सोही ठाउँबाट कार्यभार सम्हाल्नु पर्ने भएका कारण मुख्यमन्त्री लीला गिरीकै आग्रहमा राप्तीमा शपथ ग्रहणकाे कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ।
यता, लुम्बिनी प्रदेशमा मुख्यमन्त्री सहित ४ सदस्यीय मन्त्रिमण्डल गठन हुने भएको छ। मुख्यमन्त्रीमा एमालेका संसदिय दलका नेता लीला गिरी नियुक्त भइसकेका छन्। बिहीबार दाङ देउखुरीमा हुने पद तथा गोपनियताको शपथमा मुख्यमन्त्री गिरीसहित अन्य ३ मन्त्रीहरुको पनि शपथ हुनेछ।
स्रोतका अनुसार भोली मुख्यमन्त्री गिरी सहित माओवादी केन्द्रका संसदीय दलका नेता जोख बहादुर महरा, एमालेका भूमिश्वर ढकाल र चेत नारायण आचार्यले शपथ ग्रहण गर्नेछन्।
महरा आन्तरिक मामिला मन्त्री बन्ने सम्भावना छ। त्यसैगरी ढकाल भौतिक पूर्वधार तथा आचार्य ग्रामिण सहरी विकास मन्त्री बन्ने सम्भावना छ। लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय छन् ।
पुष २७, २०७९ बुधबार १९:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।