‘जहाँ टेक्यो त्यहीं उम्रिनुपर्छ’ भन्ने मान्यता राख्ने शर्माकाे जनयुद्धदेखि मुख्यमन्त्रीसम्मकाे यात्रा
सुर्खेतः वि.सं. २०४१ सालमा स्कुल पढ्दा–पढ्दै अनेरास्ववियूको राजनीतिमा संलग्न भएका शर्माको राजनीतिक पृष्ठभूमि लामो र संघर्षशील छ। सानैदेखि निर्दल र बहुदलको बारेमा चासो राख्थे शर्मा।
२०४१ सालमा शर्माकै घरमा आयोजित विद्यार्थीको क्षेत्रीय सम्मेलनमा सहभागी बनेका उनी त्यसपछि राजतन्त्रको विरोधमा लागे। जनयुद्दको तयारीका क्रममा ०५०/५१ सालमा रूकुम र रोल्पामा सञ्चालित ग्रामीण वर्गसंघर्षको थालनीकर्ता हुँदै उनी जनयुद्धमा पूर्णकालीन कार्यकर्ता भएर राजनीतिमा उदाए।
२०४३ सालमा सदरमुकाम मुसिकोट पुगेर विद्यार्थीको इकाई कमिटी सदस्य भएका उनले २०४६ सालमा मोटो मसालको पार्टी सदस्यता प्राप्त गरे। त्यसपछि उनी २०४७ सालदेखि पूर्णकालीन रुपमा राजनीतिमा होमिए।
२०४८ सालमै सर्वहारावादी श्रमिक संगठन, पातलो मसालको केही हिस्सा, मोटो मसाल र मसाल गरी नेपाल कम्युनिष्ट पार्टी एकता केन्द्र भयो र यसले खुला मोर्चाका रूपमा जनमोर्चाकाे नाममा वैधानिक राजनीतिक गतिविधि गरेका थियो।
त्यो बेला शर्माको अगुवाइमा जनसेवा तथा जनपरिचालन मार्फत विकास निर्माण, जनयुद्धको तयारी, जनयुद्धको आवश्यकताका बारेमा जनजागरण, स्थानीय जाली-फटाहा विरोधी जनसंघर्षका थुप्रै कामहरु भएका थिए।
२०५० सालमा महतको फुलबारी जंगलमा ४५ दिने सशस्त्र तालिम गरेर जनयुद्धका लागि फौजी आधार तयार गर्नमा शर्माको महत्वपूर्ण भूमिका थियाे। महतको फुलबारी जंगल कुनै समय निकै चर्चित थियो।
जनयुद्धको आधार तयार गर्न रूकुममा सञ्चालित ग्रामीण वर्गसंघर्षका क्रममा भएका स्थानीय थुप्रै जनसंघर्षका कामको नेतृत्व लिदै जनयुद्ध पूर्व नै पूर्णकालीन राजनीतिमा होमिएका शर्माले २०५२ फागुन १ गते रूकुमको राडी प्रहरी चौकी कब्जा गर्न नेतृत्वदायी भूमिका खेलेका थिए।
२०५३ पुसमा डोल्पाको त्रिवेणी चौकी आक्रमणमा सहभागी शर्माका लागि उक्त लडाइ विशेष स्मरणीय रहेको छ। एउटा एसल्ट टिम (आक्रमणमा सहभागी मुख्य लडाकु टिम) को कमाण्ड गरी उक्त लडाइमा सहभागी शर्माका लागि मुख्य कमाण्डर दौलतराम घर्ती (विजय घले) लाई गुमाउनुपरेका कारण याे लडाइ विशेष स्मरणीय रहेको थियो।
जनयुद्धको विस्तारका लागि २०५४ सालदेखि साविक कर्णालीमा सरूवा भएर विभिन्न कमाण्डको नेतृत्व गरे उनले। सो क्रममा उनले जुम्ला, कालिकोट, मुगु, डोल्पा, हुम्ला, दैलेख लगायका जिल्लामा विभिन्न समयमा जिल्ला सेक्रेटरी तथा जिल्ला इन्चार्जका रूपमा नेतृत्वदायी भूमिका खेले।
कर्णालीमा जनयुद्धको विस्तार तथा आधार इलाका निर्माणमा उनकाे याेगदान महत्वपूर्ण थियाे। जहाँ अप्ठ्यारो परिस्थिति श्रृजना हुन्छ त्यहींको क्षेत्रको लागि खटाइने गरिएका राजकुमार शर्मालाई २०६१ सालमा दैलेखमा खटाइयो।त्यतिबेला दैलेखमा माओवादी विरूद्ध प्रतिकार अभियान चलाइएको थियो।
शान्ति प्रक्रियासम्म दैलेखको नेतृत्व गरेका शर्माले शान्ति प्रक्रियापछि थारुवान राज्य समिति (दाङ–कञ्चनपुर) को प्रमुख भएर काम गरे।
‘जहाँ टेक्यो त्यहीं उम्रिनुपर्छ’ भन्ने मान्यता राख्ने शर्माले ०६७ सालपछि नेवाः राज्यमा रहेर काम गरे भने माओवादीको केन्द्रीय प्रचार विभागमा समेत रहेर काम गरिसकेको अनुभव उनीसँग छ।
गणतान्त्रिक मञ्चको केन्द्रीय अध्यक्ष समेत भइसकेका उनले ०७४ मा जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुख भएर काम गरिसकेका छन्।
माओवादी केन्द्र रुकुम पश्चिकको इन्चार्जको भूमिका निर्वाह गरिसकेका उनी पोलिटब्यूरो सदस्य हुँदै ०७८ मा पार्टीको कर्णाली प्रदेश अध्यक्ष भए। शर्मा अहिले पार्टीको पोलिटब्यूरो सदस्य हुन्।
आफूले राजनीतिमा लाग्न प्रेरित गरेका र समकालीन राजनीतिक पृष्ठभूमि भएका थुप्रै सहकर्मीहरूले राज्य संचालनका थुप्रै अवसर प्राप्त गर्दा पनि अहिलेसम्म अवसर र सुविधाका पद धारण नगरेका शर्मा पहिलो पटक संसदीय राजनीतिको यात्रामा प्रवेश गरेका छन्।
राज्य सत्ता परिवर्तनका लागि जनयुद्धका क्रममा सिंगै कर्णालीलाई पैदलै चहारेका शर्माको कर्णालीका दुरदराजका जनताका मुहारमा खुशी र सम्पन्नता ल्याउने अठोट रहेको छ।
पुष २७, २०७९ बुधबार १८:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।